काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
हालसम्म सुन तस्करीमा संलग्न ४६ मध्ये २० जना पक्राउ परेका छन् भने २६ फरार छन्। पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय नागरिक रहेको सीआईबी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेकाविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गर्नुपर्ने राय प्रतिवेदनमा उल्लेख गरिएको छ। सीआईबीले नेपालमा विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँ बढीको अवैध सुन चोरी पैठारी भएको दाबी गरेको छ।
नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौंसमेतका प्रतिनिधि रहेको विज्ञ टोलीको समेत सहभागितामा सीआईबीले सुन तस्करीको अनुसन्धान गरेको थियो।
प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिबाट स्थापित ७ विभिन्न डमी कम्पनीमध्ये ५ कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी पैठारी गरेको दाबी गरिएको छ। यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने सीआईबीले जनाएको छ।
सीआईबीले सोमबार अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेसमेत आकर्षित हुने पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा २०८० साउन २ मा अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपछि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु गरेको थियो।
उक्त प्रतिवेदन अनुसन्धान सकाएर बुझाएको र मुद्दा चलाउनेबारे एक÷दुई दिनमै निर्णय लिइने जिल्ला सरकारी वकिलको कार्यालयले बताएको छ।