काठमाडौं। पछिल्लो समय आईसी इन्जिन भएका (पेट्रोल/डिजेल) गाडीप्रति ग्राहक आकर्षण घट्दो छ। विद्युतीय (ईभी) सवारीसाधनप्रतिको आकर्षण भने बढ्दो छ।
कुनै समय नेपाली अटो बजारमा कब्जा जमाएका इन्धन गाडीको व्यापार यतिबेला सुस्ताएको छ। डिजेल/पेट्रोल गाडीमा ग्राहक आकर्षण घटेसँगै कतिपय ब्रान्ड विद्युतीय सवारीसाधन बिक्री वितरणतिर सरेका छन्। कतिपय ब्रान्ड भने इन्धन गाडीको सम्भावना कायम भएको भन्दै ग्राहक आकर्षण योजना अगाडि सारिरहेका छन्।
यद्यपि ग्राहकको वर्तमान अवस्था हेर्दा भने ढुक्क भएर ईभी प्रयोग गर्ने वातावरण अझै बनिसकेको छैन। कतिपयले इन्धन गाडी खरिद गरिरहेका छन् भने कतिपय विद्युतीय गाडीमा रमाइसकेका छन्। तथापि, विद्युतीय सवारीसाधन प्रयोगको अवधि धेरै नभएकाले केही समय पर्खनुपर्ने मान्यतामा थुप्रै भेटिन्छन्।
केही आईसी इन्जिनका (इन्धन)ब्रान्ड आफूलाई स्थापित राखिरराख्न गाडी खरिदमा विभिन्न आकर्षक योजना ल्याइरहेका छन्। यसको प्रमुख कारण भने विद्युतीय सावारीसाधनप्रति ग्राहक आकर्षक बढ्नु हो। केही वर्षयताबाट ईभी सवारीसाधन आयात बढ्दै गएको र आईसी इन्जिन गाडी आयात घढ्दै गएको भन्सार विभागको तथ्यांकले नै देखाएको छ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा ११ हजार ४६६ युनिट विद्युतीय गाडी आयात हुँदा डिजेल/पेट्रोल गाडी ३ हजार ८१५ युनिट आयात भएको छ। त्यसैले इन्धन गाडीतर्फ ग्राहक आकर्षण गर्न विभिन्न ब्रान्डले अफर तथा स्किम ल्याएका हुन्। नेपालमा उपलब्ध विभिन्न डिजेल/पेट्रोल गाडीका ब्रान्डमध्ये फोर्ड, टोयोटा, निसान र हुन्डाई ब्रान्डले आफ्ना गाडी बिक्री गर्न आकर्षक अफर ल्याएका छन्।
१० वर्षको निःशुल्क इन्धन दिने फोर्डको घोषणा
डिजेल पेट्रोल गाडी किन्ने ग्राहकलाई अफर दिने योजना सबैभन्दा पहिले फोर्ड गाडीले ल्याएको थियो। फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले आफ्ना गाडी किन्ने ग्राहकलाई १० वर्षसम्म निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरेको छ। फोर्डले ल्याएको अफरको नाम ‘१० वर्षको निशुल्क इन्धन राखिएको छ। फोर्डका रेन्जर तथा एभरेष्ट मोडल किन्ने ग्राहकले यो सुविधा पाउने कम्पनीले जनाएको छ।
टोयोटा खरिदमा १२ वर्षसम्मको बैंकिङ सुविधा
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ सम्म धुम्बाराहीस्थित टोयोटा सोरुममा एक्सप्रेन्स टोयोटा आयोजना गरेको थियो।
२०८१ लाई लक्षित गरी आयोजना गरिएको इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ सुविधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारसमेत पाउन सक्ने सुविधा कम्पनीले दिएको थियो।
निसान म्यागनाइट एसयूभीमा ४ वर्षको निःशुल्क इन्धन
नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनिर मोटोकर्पले गर्दै आइरहेको छ। निसान म्याग्नाइट गाडी किन्ने ग्राहकले ४ वर्षसम्म निःशुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन्।
नयाँ ग्राहकले ४ वर्षका लागि ‘फ्री रनिङ कस्ट’सहित महत्त्वपूर्ण बचतको लाभ लिन सक्नेछन्। ब्रान्डले अफरमार्फत चालू आर्थिक वर्षका लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गराएको छ।
हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन अवसरमा ‘हुन्डाई नेपालमा मेड फर योअर जर्नी’ ग्राहकमुखी योजना ल्याएको छ। योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र सुविधा दिने घोषणा कम्पनीले गरेको छ।