काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमा रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन्। निगमको ६६औं वार्षिकोत्सव अवसरमा आज बिहान आयोजित कार्यक्रममा मन्त्री तामाङले यस्तो बताएका हुन्।
उनले भने, ‘निगम लामो इतिहास पार गर्दै ६७औं वर्ष प्रवेश गरेको छ। यसले इतिहासको कालखण्डमा विभिन्न आरोहअवरोह पार गर्दै अलग्गै पहिचान बनाउन सफल भएको छ। अझै यसको अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवश्यक छ।’
निगमले वार्षिकोत्सव अवसरमा आज बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो। प्रभातफेरी निगमको कार्यालय परिसरबाट भई न्युरोड, वसन्तपुर, आकाशभैरव, घन्टाघर, भद्रकाली, सुन्धारा हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो।
२०१५ असार १७ मा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवाप्रदायक हो। यसले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यमा नियमित उडान सञ्चालन गरिरहेको छ।
डगलस डिसी–३ ’डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्म निगमको ७ विमान सेवामा प्रयोग गरिएको थियो। निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो।
यसले २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपछि देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।