काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात मागाउने निर्णय गरेको छ।
सिंहदरबारमा आइतबार बसेको बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात पठाउन पत्रचार गर्ने निर्णय गरेको हो।
समिति संयोजक सूर्य थापाले ती सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने सुरु गरिने बताए। समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवनका बारेमा विभिन्न आयोग, समितिका संयोजकसँग छलफल गरिरहेको छ।
समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालिन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलगायतसँग छलफल गरेको थापाले बताए।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाएपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो।
समितिमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन्।
जेठ १५ मा गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय पाएको छ।