काठमाडौं । सुरक्षा संवेदनशीलता देखाउँदै भक्तपुरस्थित नलिनचोक हेलिपोर्टबाट हालकै अवस्थामा उडान गर्न नसकिने क्याप्टेनहरूको निष्कर्ष छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताअघिबाट सञ्चालनमा ल्याएको हेलिपोर्टमा सुरक्षा सम्बन्धी कुनै तयारी नगरेको भन्दै अहिलेकै स्थितिमा हेलिकोप्टर उडान नगर्ने सामूहिक निर्णय गरेको एक क्याप्टेनले जानकारी दिए।
हेलिप्याड र 'सेक्युरिटी वाल' एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले टेकअफ र ल्यान्डिङमा समस्या भएको क्याप्टेनहरूको गुनासो छ। टेकअफ र ल्यान्डिङका लागि ७० देखि १०० मिटरको दूरी खाली हुनुपर्छ।
सुरक्षा संवेदनशीलतासँग जोडिएको विषय भएकोले तत्काल सुधारमा पहल गर्न भन्दै प्राधिकरणलाई सामूहिक पत्र बुझाउन लागिएको ती क्याप्टेनको भनाइ छ। आवश्यक तयारी बिनै प्राधिकरणले जबरजस्ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर नलिनचोकमा सारेकाले असुरक्षाका महसुस भएसँगै उडान गर्न नसक्ने निष्कर्षमा पुगेको उनले बताए।
‘उडान गर्नुअघि हेलिपोर्टमा सुरक्षाका हिसाबले सबै तयारी पूरा भएको जानकारी प्राधिकरणले गरेको थियो,’ एक क्याप्टेनले भने, ‘उडान गरेको एक साता पुगिसक्दासमेत सुरक्षामा कुनै चाँचो नदेखाएपछि सबै कम्पनीका क्याप्टेनले सामूहिक रूपमा उडान नगर्ने निर्णय गरेका हौं।’
क्याप्टेनहरूले प्राधिकरणमा आइतबार नै पत्र दर्ता गरिसकेका छन्। ‘पत्र दर्ता गरेसँगै एक/दुई दिन प्राधिकरणको प्रतिक्रिया पर्खिने र सुधार नभए उडान रोक्ने निर्णयमा हामी पुगेका छौं,’ ती क्याप्टेनले भने, ‘कुनै कारण दुर्घटना भएमा त्यसको सबै आरोप क्याप्टेनले बेहोर्नुपर्छ। प्राधिकरणले सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी जबरजस्ती उडान गर्न लगाउनु गलत हो। भोकै बस्छौं। जोखिम मोलेर उडान गर्दैनौं।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरलाई विस्थापन गर्ने उद्देश्यका साथ भक्तपुरमा विकल्पको रूपमा सञ्चालनमा ल्याएको हेलिपोर्ट पर्याप्त तयारी नै नगरी हतारमा सञ्चालन गरेपछि भद्रगोल हुन पुगेको हो।
हेलिपोर्टमा इन्धन भण्डारणसमेत सञ्चालनमा छैन। हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्किनमा लगेर इन्धन भर्ने गरेका छन्।
हेलिपोर्टमा कार्गो र यात्रुलाई चेकजाँच गर्ने स्क्यानर मेसिनसमेत राखिएको छैन। सोही कारण हेलिपोर्टभित्रको सुरक्षा जोखिम बढेको हेलिकोप्टर सञ्चालकको गुनासो छ।
हेलिपोर्ट अतिसंवेदनशील क्षेत्रमा पर्ने हुँदा प्राधिकरणले एउटा पनि अग्नि नियन्त्रणसम्बन्धी कुनै उपकरण राखेको छैन। यस्तै हेलिकोप्टर सञ्चालनका लागि आवश्यक कार्यालयको व्यवस्था नगरिएको र यात्रुलाई बस्ने ठाउँसमेत नभएको गुनासो सञ्चालकको छ।
हेलिपोर्ट सञ्चालनमा आएसँगै हेलिकोप्टर कम्पनी र यात्रुले गाडी पार्किङ स्थलको समेत अभाव भएकोले अहिले जोखिम मोलेरै सडकमा राख्नु परेको उनीहरू बताउँछन्। त्यति मात्र होइन, हेलिपोर्ट स्थलमा सामान्य चिया-खाजाको लागि समेत ठाउँ व्यवस्थापन गरिएको छैन। शौचालयको समेत अभाव रहेको सेवाग्राहीको गुनासो छ।
प्राधिकरणले असार ७ गतेबाट १२ वटा हेलिकोप्टर कम्पनीका १/१ वटा हेलिकोप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले हेलिपोर्ट उद्घाटन गरेका थिए।