काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षा भएसँगै नदीहरूमा बाढी सतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आगामी तीन दिन नदीमा बाढीको सतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको हो। बाढीले क्षति पुर्याउने उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कोसी, नारायणी, कर्णाली र यसका सहायक नदी तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो क्रममा रहने पूर्वानुमान छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ। केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ।
साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ। केही नदीमा आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान छ।