काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालले नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरेको छ। अस्पतालले एकै दिन तीनवटा रोबोटिक सर्जरी गरेको हो।
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्माले रोबोटबाट तीन महिलाको शल्यक्रिया गरेकी हुन्।
ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट ५२ वर्षीया महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकालेकी हुन्।
पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन्।
रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।
रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल डा. शर्माले सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छन्। ‘मेरो करिअरको महत्त्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो। त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो,’ उनले भनिन्।
बीएन्डबी अस्पतालका सहायक निर्देशक नीरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो। रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए।