काठमाडौं। कृषि क्षेत्रको रणनीतिक रूपान्तरणका लागि विश्वकै पहिलो कृषि रियालिटी गेम सो रेभुलेसनरी एग्रिकल्चर वार (रअ) उद्घाटन गरिएको छ। कृषि रियालिटी गेम सो उद्घाटन शनिबार खेतमा धान रोप्दै चलचित्र नायक राजेश हमालले गरेका हुन्।
क्रान्तिकारी कृषि युद्धले कृषि, उद्यमशीलता, र जलवायु परिवर्तनका विषयवस्तुलाई केन्द्रमा राखेको छ।
तीनै तहका सरकारसँग साझेदारी गर्दै हालसम्म विभिन्न स्थानीय सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होस्ट नायक राजेश हमाल रहेका छन्।
व्यावसायिक किसान र बीएससी कृषि वा सोसरह अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्, जसमा सहभागीको प्रस्तुतिलाई निर्णायकको प्यानलले मूल्यांकन गर्नेछ।
निर्णायकको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषयका विज्ञ छन्। राष्ट्रिय धान दिवस अवसरमा रअको आवेदन फर्म खुला गरिएको छ।
ललितपुर महानगर–२१ खोकनाको सहकार्यमा पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, नायक हमाल, पूर्वसचिव कार्कीलगायत सम्मिलित कार्यक्रममा आवेदन फर्म खुला गरिनुका साथै रोपाइँ उत्सव सम्पन्न भएको छ।
रअ रियालिटी गेम सो हो, जुन कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको हो।
कृषक र कृषि प्रविधिक सोमा प्रतियोगी रहनेछन्, जसमा दिगो र नवीन कृषि अभ्यास प्रवर्द्धन गर्दै उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिनेछ।
कार्यक्रमको उद्देश्य कृषिको महत्त्वलाई उजागर गर्दै युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानको श्रम र समर्पणलाई प्रस्तुत गर्नु रहेको आयोजकको भनाइ छ।