काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति महिना दिनभित्रै सार्वजनिक गर्दै छ। मौद्रिक नीति तर्जुमा कार्यविधिको व्यवस्थाबमोजिम राष्ट्र बैंंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र नयाँ मौद्रिक नीति ल्याउनुपर्छ। सोहीअनुसार राष्ट्र बैंकले लगानीकर्ता तथा सम्बन्धीत निकायबाट असार १६ गतेसम्म आफ्नो सुझाव पठाउन यसअघि नै आग्रह गरिसकेको छ।
राष्ट्र बैंकको आग्रहअनुसार सुझाव दिन सेयर लगानीकर्ता छलफलमा जुटिसकेका छन्। पुँजीबजार सम्बद्ध कतिपय लगानीकर्ताका संघ–संगठनहरुले संयुक्त रुपमा सुझाव दिँदैछन्।
यद्यपि, पटक–पटक सुझाव मागेर कार्यान्वयन नगर्ने प्रवृत्तिले लगानीकर्तामा आगामी मौद्रिक नीति पुँजीबजारको हितमा आउने विश्वास कम छ।
त्यसो त, केही सातादेखि गभर्नर महाप्रसाद अधिकारीले हरेक सार्वजनिक कार्यक्रममा मौद्रिक नीति लचिलो आउने अभिव्यक्ति दिँदै आएका छन्। तर, पटक–पटक कुरा गर्ने र काम नगर्ने प्रवृत्तिले लगानीकर्ताले गभर्नर अधिकारीको अभिव्यक्तिप्रति उति विश्वास गरेका छैनन्। अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारको हितमा काम गर्ने प्रतिबद्धता जनाएर सोअनुरुप काम नगरेको अनुभव लगानीकर्तासामु छ।
त्यसैले मौद्रिक नीति सकारात्मक आउने ढोल पिटिँदै गर्दा पनि सेयरबजार उकालो लाग्न सकेको छैन। गत साताको कारोबारलाई हेर्ने हो भने पाँच कारोबार दिनमा बजार दुई दिन बढ्दा तीन दिन घट्यो। असार ६ गते बिहीबार २०६८.३१ को बिन्दुमा बन्द भएको सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता १६.३९ अंकले घटेर २०५१.९२ को बिन्दुमा बन्द भएको छ।
अघिल्लो साता अर्थात् असार २ देखि ६ सम्मको ४ कारोबार दिनमा पनि ४३.९८ अंकले घटेर २०६८.३१ बिन्दुमा रोकिएको थियो। यद्यपि, अघिल्लो साताको तुलनामा गत साताको कारोबार भने सुधारिएको छ।
गत साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल २१ अर्ब १६ करोड रुपयाँको कारोबार भयो। अघिल्लो साता नेप्सेमा कुल १६ अर्ब ६५ करोड बराबरको कारोबार भएको थियो।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे केही दिन सेयरबजार असार मसान्तको प्रेसरले नबढे पनि अब सकारात्मक हुने तर्क गर्छन्। ‘पछिल्लो केही कारोबार दिन असार मसान्तको प्रेसरका कारण बजार बढ्न सकेन। तर, अब बजार फर्किएर सकारात्मक हुने सम्भावना बढी छ,’ अध्यक्ष पाण्डे भन्छन्।
अब आउने मौद्रिक नीति गभर्नर अधिकारीको कार्यकालको अन्तिम हो। त्यसैले पनि लगानीकर्ताले लचिलो मौद्रिक नीतिको अपेक्षा गरेको देखिन्छ।
आगामी मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा (क्याप)लाई निःसर्त पूर्ण रूपमा हटाउनुपर्ने, सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने, सेयर धितोमा राखिने सेयरको औसत मूल्यलाई १८० दिनबाट १२० दिन कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारको बाटो खोलिदिनुपर्नेलगायत सुझाव लगानीकर्ताको छ। यस्तै, लगानीकर्ताले पुँजी बजारमा नीतिगत स्थिरता खोजेका छन्।
सेयर बजारका लागि लगानीकर्ताले अपेक्षित विषय मौद्रिक नीतिमा समेटिए मात्रै उनीहरुको मनोबल बलियो हुने देखिन्छ। व्यावहारिक रुपमा यी विषय कार्यान्वयनमा नआएसम्म बजारप्रति लगानीकर्ताको मनोबल बढ्ने देखिँदैन।
एकातर्फ सेयर बजार धीमा गतिमा हुँदा अर्कोतर्फ पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति अझै पछाडि धकेलिने देखिएको छ।
हाल अगाडि बढाइएको अध्यक्ष छनोट प्रक्रिया शुक्रबार रद्द गरिएसँगै सुरुबाटै पुनः अर्को प्रक्रिया थालिँदा समय लाग्ने देखिन्छ। यी र यस्ता उल्झनले पनि पुँजी बजारलाई कतैबाट सकारात्मक ढंगमा नहेरिएको गुनासो आउने गरेको छ।
लगानीकर्ता छोटेलाल रौनियार बजारलाई सकारात्मक बनाउने विषय कहीँ–कतैबाट पनि नआउँदा नेप्से एउटै बिन्दु वरिपिर घुमिरहने स्थिति बनेको बताउँछन्। सरकार सेयर बजारप्रति सकारात्मक भए मात्रै उकालो लाग्ने उनको बुझाइ छ।
‘लामो समयदेखि बजार सकारात्मक बनाउने विषय आएको छैन। बजार सकारात्मक बनाउने विषय कतैबाट नआउँदा नेप्से माथि उक्लन सकेको छैन,’ लगानीकर्ता रौनियार भन्छन्, ‘सही ढंगबाट सहयोग गर्ने विषय नआएसम्म बजार चलायमान बन्न सक्दैन।’
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि थप समय लाग्ने भएकाले यसले पनि बजारलाई अन्योलको स्थितिमा धकेलेको रौनियार बताउँछन्।
लगानीकर्ताको मनोबल कमजोर भएकै कारण विस्तारै सकारात्मक बन्न खोजेको सेयरबजार सानो विषयको प्रभावले नकारात्मक बन्ने गरेको छ। दुई साताअघि सकारात्मक बन्दै साढे २१०० बिन्दु नजिक पुगेको बजार नेप्से पुँजीगत लाभकरको विषय आउनासाथ घटेर हाल २००० बिन्दु नजिक आएको छ।
बैंक, बिमालगायत क्षेत्रमा लगानी गर्ने गरी आत्मबल बलियो नबन्दा फाइनान्स र लघुवित्तको कारोबारले पुँजीबजार धानिएको छ।