पाेखरा । ‘विकास र समृद्धि’को नारा बोकेको कास्कीको रुपा गाउँपालिकाले स्थानीयवासीको जीवनस्तर परिवर्तन केन्द्रित कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय श्रमलाई आर्थिक रुपान्तरणमा जोड दिने उद्देश्य गाउँपालिकाको रहेको गाउँपालिका प्रमुख नवराज ओझाले बताए।
केही समयअघि बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्थानीय उत्पादन ‘ठेकी’ उपहार दिएर चर्चामा आएको रुपा गाउँपालिकाले विशेषगरी स्थानीयवासीको जीवनस्तरमा गुणात्मक विकासका लागि कृषिलाई विशेष जोड दिएर कार्यक्रम गर्दै आएको छ । ‘एक गाउँ एक उत्पादन’ भन्दै पकेट क्षेत्र बनाएर काम गरेको प्रमुख ओझाले बताए। “हाम्रो एक मात्र उद्देश्य स्थानीयवासीको जीवनस्तरमा गुणात्मक परिवर्तनका लागि आत्मनिर्भर बनाउने हो । हामी सफल हुँदै गएका छाैं ।”
शिक्षा स्वास्थ्य खानेपानीलगायतका आधारभूत कुरालाई गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेर स्थानीयवासीलाई लाभान्वित तुल्याएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ कूल रु ३७ करोड बजेटमा विकास बजेट रु १३ करोड रहेको छ भने कृषिका लागि रु एक करोड ५० लाख रकम छुट्याएको छ । विशेषगरी तरकारी, फलफूल, गहँु, धानलगायतका बालीलाई प्राथमिकता दिएको ओझाको भनाइ छ ।
व्यवसायी तरकारी खेतीका लागि शीतभण्डारको समेत व्यवस्था गाउँपालिकाले गरेको र कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश र सङ्घ सरकारसँग समेत समन्वय गरेर योजना बनाइरहको उनले बताए। “हामीले कृषिमैत्री वातावरण तयार गरी उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्नसमेत व्यवस्था गरेका छौँ ।” स्थलगत निरीक्षण कृषकको चाहना र उपयुक्त वातावरणको अध्ययनबाट अनुदान दिँदै आएकाले यसले कृषकलाई थप ऊर्जा मिलेको उनको भनाइ छ ।
गाउँपालिकाको कुनै पनि कार्यक्रममा स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने र उपहारस्वरुप स्थानीय उत्पादन नै दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै आएको छ । यसले स्थानीयवासीले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्ने उनको भनाइ छ । गाउँपालिकाले कार्यपालिकाको बैठकबाट स्थानीय उत्पादन र वस्तुमात्र कोशेलीका रूपमा दिने निर्णय गरेको थियो ।
यहाँका कृषक राजेन्द्र न्यौपाने पनि गाउँपालिको स्थानीय उत्पादन प्रोत्साहन नीतिबाट लाभान्वित भएको बताउछन् । “अहिले १०० घार मौरी पालेको छु । मह उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले निकै सहयोग गरेको छ ।” हरेक कार्यक्रममा गाउँपालिकाले मह, घ्यू, अनदीको चामल उपहारस्वरुप दिने गर्दा कृषकलाई प्रत्यक्ष फाइदा पुगेको उनको भनाइ छ । कृषक न्यौपानेले मह एक मानाको ८०० मा बिक्री भएको र उत्पादनले राम्रो बजार पाएको बताए।
यसका साथसाथै विदेशमा भएका युवालाई स्वदेश फर्काउने र स्वदेशमा भएकालाई प्राविधिक शिक्षा एवं तालीम प्रदान गरेर स्वदेशमै रोजगारी बनाउने लक्ष्य गाउँपालिकाको रहेको ओझाले बताए । यसका लागि गाउँपालिकाले तीन विद्यालय ‘गाउँ फर्क मावि,’ ‘विश्व शान्ति मावि’, ‘रामकोट मावि’मा सिभिल इन्जिनीयरिङ, भेटेरेनरी र कृषिको पढाइ हुँदै आएको छ ।
भौतिक पूर्वाधारतर्फ पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । पचासी किलोमिटरको काम भइरहेकामा अहिले १३ किलोमिटर कालोपत्र भइसकेको र बाँकी काम भइरहेको प्रमख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए। त्यसैगरी चार हजार ५०० घरधुरीमा हाल तीन हजार ८०० को घरमा खानेपानी पुगिसकेको छ भने बाँकीको घरमा पनि खानेपानी पु¥याउने योजनालाई तीव्र पारिएको छ ।
गाउँपालिका पर्यटनको दृष्टिकोणले निकै उत्कृष्ट मानिन्छ । बेलायतका राजकुमार चाल्स र पूर्व राजकुमार दीपेन्द्रले पदयात्रा गरेका पदमार्गको ‘रोयल ट्र्याक’ संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनासमेत अघि बढाएको छ । गाउँपालिकाको २३ डाँडा जोडेर अन्तरराष्ट्रिय उद्यान बनाउने वृहत् योजना पनि रुपा गाउँपालिकाले लिएको छ ।
हिमशृङ्खलाका मनोरम दृश्यसँगै पोखरा शहरलगायत लमजुङ र तनहुँका मनोरम दृश्य र सात ताल देखिने भएकाले पनि यस क्षेत्रको पर्यटकीय महत्व रहेको पोखरेलको भनाइ छ । रुपाकोट रिसोर्टले पनि यस क्षेत्रको परिचयलाई थप उजागार गरेको उहाँ बताउछन्। करीब २२ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा ४१ जातजातिको बसोबासले सांस्कृतिक विविधताको पनि उत्कृष्टता नमूना रहेको उनी बताउछन् ।