क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
संघीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएका तर अहिले प्रतिफलविहीन रहेका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको छ। समिति सभापति ऋषिकेश पोखरेलका अनुसार असार १३ मा गठन गरिएको उपसमितिले राज्यको ठूलो लगानी भएका गौरवका आयोजना अलपत्र हुनुको कारण र कमजोरीबारे अध्ययन गरेर सरकाररलाई सिफारिस गर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको हो। दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ।
प्रतिनिधिसभाले अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ मा सार्वजनिक आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित गरेको छ। असार ११ को प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उपसभामुख इन्दिरा रानाले पुनको प्रस्ताव निर्णयार्थ बैठकमा पेस गरेपछि बजेट बहुमतले पारित गरेको हो। बजेट पारितको प्रस्तावलाई संसद्का बहुमत सांसदले ताली बजाएर सहमति जनाएका हुन्। बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा गरेका थिए। सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक गरेको थियो।
७५३ स्थानीय सरकारले संवैधानिक प्रावधानअनुसार असार १० मा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गरेका छन्। प्रत्येक वर्ष असार १० भित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पछिल्लो विवरणअनुसार असार ९ मा ३८ र असार १० मा ६१७ स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन्। मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म पालिका, नगरपालिका र उपमहानगर गरी ४८ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन्। यसअघि संघीय सरकारले जेठ १५ र सात वटै प्रदेश सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय सार्वजनिक गरिसकेका छन्।
प्रहरीले प्राइम कमर्सियल बैंक सञ्चालक नरेन्द्र वज्राचार्यसहित ६ जनालाई पौन १४ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको छ। वज्राचार्यसहितको समूहले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटरको स्वामित्व हस्तान्तरण गर्ने प्रलोभन देखाएर रकम ठगेको उजुरी परेपछि प्रहरीलाई उनीहरुलाई असार ११ मा पक्राउ गरेको हो। कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समिति अध्यक्षसमेत रहेका वज्राचार्यसहितको ६ जनाको समूहले १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। प्रहरीले वज्राचार्यसँगै कलंकी ट्रेड सेन्टरका अन्य सञ्चालक राजु महर्जन, राजेशकृष्ण श्रेष्ठ, निरन्जनकुमार श्रेष्ठ, चिरञ्जीवी पौडेल र शान्तिरमण पंगेनीलाई पक्राउ गरेको छ।
सरकारले घरजग्गा खरिद बिक्री गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ। गृह मन्त्रालयले असार १३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ देखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिएको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ देखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्यबमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृहका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले असार ९ मा उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बनमा परेका मुख्यसचिव अर्याललाई सरकारले मुख्यसचिवसरहकै विशेष पद सिर्जना गरेर असार १० मा राष्ट्रिय योजना आयोग सरुवा गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित २०८० को एसईई परीक्षा नतिजा असार १४ मा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना मात्र उत्तीर्ण भएका छन्।
यो साता सेयर बजारमा १६.३९ अंकको गिरावट आएको छ। असार ६ गते बिहीबार २०६८.३१ को बिन्दुमा बन्द भएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाँच कारोबार दिनमा १६.३९ अंकले घटेर असार १३ मा २०५१.९२ को बिन्दुमा समेटिएको हो। गत साताको चार कारोबार दिनमा पनि नेप्से ४३.९८ अंकले घटेर अन्तिम कारोबार दिन बिहीबार २०६८.३१ को बिन्दुमा रोकिएको थियो। नेप्सेमा यो साता कुल २१ अर्ब १६ करोड रुपयाँको कारोबार भएको छ। गत साता कुल १६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।