काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको पटक-पटकको पहल र निर्देशनपछि नेपाल वायु सेवा निगमको वाइड बडी जहाजको सम्पूर्ण मर्मत (सी–चेक) हुने भएको छ।
पर्यटन मन्त्रीले वायुसेवा निगमका अध्यक्ष र नागरिक उड्यन प्राधिकरण क्यानका महानिर्देशकसँग पटक-पटक छलफल गरी निर्देशन दिएबमोजिम कल साइन नाइन एनएनवाई जहाजको सी-चेकका लागि सहज भएको हो।
क्यानले विना अनुमति दुबई हुँदै ईटाली जहाज लगेको भन्दै सी-चेकको अनुमति दिएको थिएन। तर, मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेर पहल लिएपछि आज क्यानले निगमलाई अनुमति प्रदान गरेको हो।
मन्त्री तामाङले क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बाेलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिएर छिटो सीऔचेककाे कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए।
हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी-चेकका लागि क्यानले निगमलाई अनुमती दिइएको जानकारी दिए।
वायुसेवा निगमले जुन २२ मा निगमको एक वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली पठाइएको थियो। जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ। इटालिएन कम्पनी एटीटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ।
यता वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वाईडबडी जहाजको सी-चेककाे लागि क्यानले अनुमति प्रदान गर्ने प्रक्रिया गरिरहेको जानकारी आए पनि पत्र प्राप्त नभएको बताए।
दुईवटा वाइड बडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी-चेक नभए उडान गर्न पाउने थिएन।
साथै यस जहाजको मर्मत सम्पन्न भएपश्चात निगमको अर्को ए३३० जहाज ९एन-एएलजेडलाई पनि मर्मत सम्पन्न गराउन सोही मर्मत कम्पनीमा जूलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिए।