काठमाडौं । सरकारी ऋणपत्रमा लगानीकर्ता हराउने प्रवृत्ति बढ्दै गएको छ। सर्वसाधारण सरकारले जारी गरेको ऋणपत्र खरिद गरेर सम्पर्कविहीन हुँदा करिब ६ करोड रुपैयाँ अलपत्र परेको हो।
सरकारले आन्तरिक व्यवस्थापनमा राष्ट्र बैंकमार्फत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक ऋणपत्र जारी गर्छ। सरकारलाई अल्पकालीन ऋण व्यवस्थापनका लागि ट्रेजरी बिल एक वर्ष अवधिका लागि जारी गरिन्छ। दीर्घकालीन ऋण व्यवस्थापनमा विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र एक वर्ष बढी अवधिका लागि जारी हुन्छ।
यसमध्ये नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सर्वसाधारणले मात्रै खरिद गर्न पाउँछन् भने वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले मात्रै खरिद गर्न पाउँछन्। उल्लेखित ऋणपत्रको परिपक्व अवधि ५ वर्ष रहेको छ।
हालसम्म २१ अर्ब १ करोड ९४ लाख बराबरको नागरिक बचतपत्र र १५ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगारी रोजगार बचतपत्र जारी भएको छ। जारी वैदेशिक बचतपत्र भने ७६ करोड २३ लाख रुपैयाँ बराबर मात्रै खरिद भएको छ। यसरी खरिद भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र परिपक्व भएर पनि खरिदकर्ता लिन नआएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख तथा सहसचिव दीर्घराज मैनाली बताउँछन्।
‘अहिले परिपक्व भएपछि सोझै खरिदकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइसकेका छौं। परिपक्व भएमध्ये केही पुराना बचतपत्र खरिदकर्ता भुक्तानी लिन आएका छैनन्,’ सहसचिव मैनालीले क्यापिटल नेपालसँग भने, ‘हामीले खरिदकर्तालाई दाबी गर्न आउन पत्रपत्रिकामार्फत सार्वजनिक सूचना नै जारी गर्ने तयारीमा छौं।’
बचतपत्र खरिद गरेर खरिदकर्ता विदेश गएको, ऋणपत्र परिपक्वबारे जानकारी नभएको वा खरिदकर्ताको मृत्य भएको कारणले भुक्तानी दाबी नभएको हुन्छन्। मुख्य खरिदकर्ताबाट दाबी हुन नसकेको अवस्थामा उत्तराधिकारीमार्फत दाबी भए पनि भुक्तानी दिइने उनले बताए।
कार्यालयमा गत चैत १ गतेसम्म परिपक्व भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमध्ये ५ करोड ९१ लाख रुपैयाँ दाबी भएको छैन। यसमध्ये नागरिक बचतपत्रको ५ करोड रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रको ९१ लाख रुपैयाँ बचतकर्ता धनीले दाबी गर्न नआएका हुन्। बचतकर्ता धनी या तिनका उत्तराधिकारीले दावी गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमै जानुपर्छ।
हाल यस्तो ऋणपत्र बजार निर्माता बैंक तथा वित्तीय संस्थामार्फत खरिद बिक्री गरिएको हुन्छ। खरिदकर्ताले बचतपत्र खरिदको सक्कल प्रमाणपत्र लिएर सम्बन्धित बैंकमा बुझाए भुक्तानी पाउँछन्। बैंकले राष्ट्र बैंकसँग सोधभर्ना माग गर्छन् भने राष्ट्र बैंकलाई सरकारले एकमुष्ट भुक्तानी गर्छ। पुराना बचतकर्ताधनीले पनि बैंक खातालगायत व्यक्तिगत विवरण अद्यावधिक गरे खरिद गरिएको ऋणपत्र परिपक्व भएलगत्तै साँवा-ब्याज बैंक खातामै जम्मा हुन्छ।