काठमाडौं। सन् २०२५ भित्रमा नेपाली अकासमा चार कम्पनीका चार वटा हेलिकोप्टर थपिने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षभित्र प्रत्येक हेलिकोप्टर कम्पनीले ५ वटा हेलिकोप्टर पुर्याउनुपर्ने प्रावधान ल्याएपछि यो वर्ष चार वटा थपिने निश्चित भएको हो।
पछिल्लो समय हेलिकोप्टरको व्यापारसमेत बढिरहेका बेला कम्पनीबीच हेलिकोप्टर थप्ने प्रतिस्पर्धा सुरु भएको छ। सन् २०२५ भित्रै हेलिकोप्टर थप्न चार कम्पनीले निवेदन दिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘अहिले चार कम्पनीले हेलिकोप्टर थप्न निवेदन दिएका छन्’, सूचना अधिकारी भूलले भने। हेलिकोप्टर खरिदका लागि हाल कैलाश, अल्टिच्युड, एयरडाइनेस्टी र मनाङ एयरले प्राधिकरणमा निवेदन दिएका छन्।
प्राथमिक सेयर(आईपीओ) जारी गर्ने तयारीमा रहेको कैलाशले १ वटा हेलिकोप्टर थपेर ४ वटा पुर्याउने लक्ष्य बनाएको छ। २०८१ भित्रै आईपीओ जारी गर्ने तयारी गरेको कैलाशसँग हाल ३ वटा हेलिकोप्टर रहेको छ।
यस्तै, २ वटा हेलिकोप्टरमार्फत उडान भर्दै आएको अल्टिच्यूडले पनि १ वटा जहाज थप्ने भएको छ। एयरडाइनेस्टीसँग हाल ४ वटा हेलिकोप्टर छन्। अब १ वटा थप गरी ५ वटामार्फत उडान गर्ने योजना एयरडाइनेस्टीको छ।
यस्तै, हाल बन्द अवस्थामा रहेको मनाङ एयरले थप एउटा हेलिकोप्टर थप्ने भएको छ। मनाङले २ महिनाअघि मात्र नयाँ हेलिकोप्टर ल्याएको थियो। सो कम्पनी १ वर्ष अघि दुर्घटनामा परेपछि लाइसेन्स सस्पेन्स गरेको छ। हालसम्म प्राधिकरणले सो कम्पनीको लाइसेन्स सस्पेन्स फुकुवा गरेको छैन।
हाल नेपालमा १३ वटा कम्पनीका ३७ बढी हेलिकोप्टर सञ्चालनमा छन्। १३मध्ये हाल १२ वटा कम्पनीले हेलिकोप्टर सञ्चालन गरिरहेका छन्।
विदेशी पर्यटक संख्या बढेसँगै हेलिकोप्टर सेवाप्रदायक कम्पनीबीच हेलिकोप्टर थप्ने होडबाजी सुरु भएको छ।
विशेषगरी पर्यटन क्षेत्रमा दुई सिजनलाई विशेष मानिँदै आएको छ। मार्च–अप्रिल र सेप्टेम्बर–अक्टोबर–नोभेम्बरलाई पर्यटकीय सिजनका रुपमा लिइँदै आएको छ। तथापि, पछिल्ला केही वर्षयता अफसिजन मानिएका महिनामा पनि पर्यटकको नेपाल आगमन बढिरहेको छ।
केही वर्ष अघिसम्म बैंकको किस्ता तिर्नसमेत धौधौ अवस्थामा पुगेका व्यवसायीले यो वर्ष राम्रो आम्दानी गरेको बताउँछन्।
एउटा हेलिकोप्टरको मूल्य ४० करोड
पछिल्लो समय नेपालमा एयरबसद्धारा उत्पादित बि–३ सिरिजको हेलिकोप्टर नेपाल आइरहेका छन। फ्रान्सबाट नेपालसम्म हेलिकोप्टर आइपुग्दा एउटा हेलिकोप्टरको करिब ४० करोड रुपैयाँ मूल्य पुग्छ।
यो हिसाबले चार थान हेलिकोप्टरको मूल्य करिब १ अर्ब ६० करोड रुपैयाँ हुन आँउछ। चालू आर्थिक वर्षदेखि सरकारले एयरलाइन्समा भ्याट लगाइदिएपछि हेलिकोप्टरको मूल्य बढेको हो। हेलिकोप्टर थपिँदा कम्पनीको आम्दानी मात्र नभई मुलुकभित्र रोजगारीसमेत सिर्जना हुन्छ।