सुर्खेत। लुम्बिनी–रारा सडक खण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङमार्ग निर्माण गर्न ‘प्रि–फिजिबिलिटी’ अध्ययनको काम सकिएको छ।
सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न २०७८ साउन ४ गते ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए।
उक्त पहल बमोजिम सडक विभागले २०८० जेठमा ईटीको–टीएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो। आव २०७९/८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो।
आव २०७९/८० को अन्तिमा प्रि–फिजिबिलिटी’ अध्ययनका लागि सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित ईटीको–टीएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो। ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रि–फिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ।
‘प्रि–फिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टीएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए। जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ।
अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउनेछ।
सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका इन्जिनियर दीपक एकामीले बताए। कर्णाली प्रदेशको सबैभन्दा बीच भागमा जाजरकोट पर्छ।
जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले सुरुङ मार्ग निर्माण भएमा साविकको कर्णालीको चौतर्फी विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे।
जाजरकोट र जुम्ला मात्र नभइ कर्णालीकै समृद्धिसँग जोडिएको यो मार्गलाई छिटो निर्माण चरणमा लैजानुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए। यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लानुपर्ने उनको भनाइ छ।–रासस