काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साताअघि भक्तपुरको नलिनचोकमा सञ्चालनमा ल्याएको हेलिपोर्ट भद्रगोल अवस्थामा चलिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरलाई विस्थापन गर्ने उद्देश्यले नलिनचोकमा निर्माण गरिएको हेलिपोर्ट तयारीबिनै सञ्चालन गरेपछि भद्रगोल देखिएको हो।
प्राधिकरणले असार ७ गतेबाट १२ वटा हेलिकोप्टर कम्पनीका १/१ वटा हेलिकोप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले हेलिपोर्ट उद्घाटन गरेका थिए। तर, हेलिपोर्टमा आवश्यक कुनै पनि सुविधा उपलब्ध नभएपछि हेलिकोप्टर सञ्चालक रुष्ट बनेका छन्।
‘हेलिकोप्टर सञ्चालनका लागि नलिनचोकमा आधारभूत आवश्यकता नै उपलब्ध छैनन्। हामीलाई जबर्जस्ती नलिनचोकमा हेलिकोप्टर स्थानान्तरणका लागि दबाब दिइयो। सोही कारण हामी त्यहाँ हेलिकोप्टर पार्किङ गर्न बाध्य छौं,' एक हेलिकोप्टर सञ्चालकले भने, ‘प्राधिकरणबाट कुनै सुविधा पाएका छैनौं।’
हेलिपोर्टमा इन्धन भण्डारण सुविधासमेत नहुँदा हेलिकोप्टरमा इन्धन भर्न हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जर्किनमा इन्धन लगेर भर्ने गरेका छन्। जर्किनमा इन्धन लगेर भर्नु आफैँमा जोखिमयुक्त हो। ‘यदि इन्धन लैजाने कर्मचारीले कुनै बदमासी गरे त्यसको जिम्मेवारी कसले लिने,’ ती सञ्चालकले भने, ‘यस विषयमा आयल निगमका पदाधिकारीसँग बुझ्दा अहिले नै इन्धन भण्डारण निर्माणको सम्भावना नरहेको जवाफ दिने गरेका छन्।’
त्यति मात्र होइन, हेलिपोर्टमा कार्गो र यात्रुलाई चेकजाँच गर्ने स्क्यानर मेसिनसमेत राखिएको छैन। सोही कारण हेलिपोर्टभित्रको सुरक्षा जोखिम बढेको हेलिकोप्टर सञ्चालकको गुनासो छ। ‘हेलिपोर्ट सञ्चालनका लागि सबैभन्दा पहिला चाहिने भनेकै स्क्यानर मेसिन हो,’ एक सञ्चालकले भने, ‘यसले सबै क्षेत्रमा जोखिम बढाएको छ। उडानमा समेत जोखिम मोल्नुपर्ने स्थिति आएको छ।’
हेलिपोर्ट अतिसंवेदनशील क्षेत्रमा पर्ने हुँदा प्राधिकरणले एउटा पनि अग्नि नियन्त्रणसम्बन्धी कुनै उपकरण राखेको छैन। यस्तै हेलिकोप्टर सञ्चालनका लागि आवश्यक कार्यालयको व्यवस्था नगरिएको र यात्रुलाई बस्ने ठाउँसमेत नभएको गुनासो सञ्चालकको छ।
हेलिपोर्ट सञ्चालनमा आएसँगै हेलिकोप्टर कम्पनी र यात्रुले गाडी पार्किङ स्थलको समेत अभाव भएकोले अहिले जोखिम मोलेरै सडकमा राख्नु परेको उनीहरू बताउँछन्। त्यतिमात्र होइन, हेलिपोर्ट स्थलमा सामान्य चिया-खाजाको लागि समेत ठाउँ व्यवस्थापन गरिएको छैन। शौचालयको समेत अभाव रहेको सेवाग्राहीको गुनासो छ।
हेलिपोर्टका लागि चाहिने आवश्यकता पूरा गर्न लागिरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। गाडी पार्किङका लागि ठाउँ सम्याउने काम भइरहेको र इन्धनको समस्या समधानका लागि आयल निगमसँग छलफल चलिरहेको उनले जानकारी दिए।
प्राधिकरणले हेलिपोर्ट निर्माण गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मातहतमा हुँदा उसैले स्क्यानर मेसिन राख्ने भएकोले प्रक्रियामा रहेको उनले बताए। हेलिपोर्टभित्र टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको हुँदा केही समयभित्रै सहज हुने उनको दाबी छ।
विमानस्थल स्तरोन्नतिको काम तत्कालै गर्नुपर्ने भएकोले हेलिपोर्ट सञ्चालन गरिएको, हेलिकोप्टर कम्पनीलाई भएको असहज सम्बन्धमा जानकारी रहेकोले समधानका लागि काम भइरहेको उनले बताए।
तीन कोठाको भाडा ५० हजार
हेलिपोर्ट सञ्चालनमा आएसँगै हेलिकोप्टर कम्पनी सम्पर्क कार्यालय राख्न ठाउँको खोजीमा लागेका छन्। काठमाडौंमा कार्यालय भएका हेलिकोप्टर कम्पनी नलिनचोकमा समेत अर्को कार्यालय खोल्ने तयारीमा लागेका हुन्। तर, कार्यालय खोल्न त्यस क्षेत्रका स्थानीयले घर भाडा अत्यधिक महँगो भन्न थालेका छन्।
हेलिपोर्ट सञ्चालनअघि नलिन्चोकमा ३ वटा कोठा १२ देखि १५ हजारमा पाइने गरेकोमा अहिले ५० देखि ६० हजारसम्म भन्न थालेको व्यवसायीको गुनासो छ।
‘हामी ६० हजार रुपैयाँ पनि भाडा तिर्न तयार छौं,’ एक सञ्चालकले भने, ‘त्यसको हिसाब यात्रु भाडामै जोडिन्छ। त्यसैले यसमा प्राधिकरण गम्भीर भएर लागोस्।’