काठमाडौं। राइड सेयर कम्पनी इन्ड्राइभको एसिया–प्यासिफिक क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया मकरेन्को नेपाल भ्रमणमा आएकी छन्। नेपालमा इन्ड्राइभले आधिकारिक सेवा सुरु गरेसँगै उनी नेपाल आएकी हुन्।
इन्ड्राइभले आयोजना गरेको कार्यक्रममा निर्देशक मकरेन्कोले सन् २०३० सम्ममा १ अर्ब मानिसमा सेवा पुर्याउने कम्पनीको योजना रहेको बताइन्।
इन्ड्राइभले राइडर, सेवाग्राहीको सुरक्षा र बिमालाई मजबुत बनाउँदै लग्ने जानकारी दिइन्। विश्वका ११ मुलुकमा इन्ड्राइभ सेवा पुगिसकेकाले र त्यसमध्येको प्रमुख नेपाल पनि रहेको उनले जानकारी दिइन्।
‘हामीले मानिसलाई राइड सेयर मोबिलिटीबाट जोड्दै आएका छौं। आफ्नो सेवा विभिन्न ठाउँमा विस्तार पनि गर्दै लगेका छौं,’ निर्देशक मकरेन्कोले भनिन्, ‘सन् २०३० सम्ममा १ अर्ब सेवाग्राहीमाझ सेवा विस्तार गर्ने योजनामा छौं।’
उनले मोबिलिटीको माध्यमबाट मानिसको जीवनलाई सहज बनाउन चाहेको पनि बताइन्। कम्पनीका हाल काठमाडौंमा ट्याक्सी, मोटरसाइकल, डेलिभरी, अन्तर–सहर यात्रा (सिटी टु सिटी) राइडलगायत सेवा छन्। यसमा आफ्नै भाडा प्रस्ताव गर्न सकिने प्रस्ताव स्वीकार्ने चालक पाउन सकिने वा चालकको प्रस्ताव आफूले स्वीकार्न सकिने, चालक छनोट गर्न सकिने चालकको रेटिङ र उनीहरूले कति वटा राइड गरिसकेका छन् भन्ने हेर्न सकिने व्यवस्था छ।
यस्तै, आफ्नो रोजाइमा सुरक्षित हुन सकिने इन्ड्राइभमा आउनुअघि प्रत्येक चालकको आधारभूत जानकारी र कागजात एपमा समावेश हुनुपर्नेछ। यात्रु र चालक दुवैले एकअर्काको रेटिङ तिनले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनोट गर्न, सवारीको समय एपमा लाइभ राइड विवरण सेयर गर्न मिल्ने र सेभ आवर सोल्स, अप्रत्याशित परिस्थितिमा प्रयोगकर्तालाई छिटो सहयोग लिन सकिने र स्थिति चाँडै समाधान गर्न कर्मचारीसँग काम गर्न सकिने सुविधा छन्।