काठमाडौं। गृह मन्त्रालयले मनसुन भित्रिएसँगै जेठ २८ देखि आजसम्म ३३ जिल्ला प्रभावित भएको बताएको छ।
मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन्।
मनसुन भित्रिएको जेठ २८ देखि असार १२ सम्म कुल १४७ विपद्का घटना भएका र ती घटनामा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा बाढीबाट १, पहिरोबाट १४ र चट्याङबाट १३ जना रहेका छन्।
पहिरोबाट १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ। १० वटा घर आंशिक क्षति भएको छ। पहिरोबाट मात्रै अनुमानित ६९ लाख रुपैयाँ बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
यस्तै मनसुनका समयमा बाढीबाट १ जनाको मृत्यु र २ जना घाइते भएका छन्।
चट्याङबाट क्षति
सोही अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ। चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार पछिल्लो विपद्जन्य घटना (असार ११ र १२ गते) को अवधिमा मात्रै १८ जनाको मृत्यु भएको छ। यीमध्ये ९ चट्याङबाट र ९ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको उनले उनले बताए।–रासस