काठमाडौं। एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको सेरेस मिनीमा प्राविधिक समस्या देखिएपछि ग्राहकबाट ७ वटा गाडी फिर्ता लिएको छ। चिनियाँ विद्युतीय ब्रान्ड सेरेस मिनी ईभीको ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि कम्पनीले ग्राहकबाट गाडी फिर्ता लिएको हो।
सेरेस मिनीमा स्टेरिङ र्याक हल्लिनुका साथै स्टेरिङले राम्रोसँग काम नगर्ने समस्या बढी देखिएको छ। गुडिरहेको गाडीमा ब्रेक हान्दा त्यसले काम गरेजस्तो हुने तर ब्रेक राम्रोसँग नलाग्ने समस्या पनि सेरेस मिनी ईभीमा छ।
साथै, पिकअप नलिने र सामान्य रोडमा पनि कम्पनीले भनेजस्तो वास्तविक क्षमता नदेखिएसँगै ग्राहक रुष्ट बनेपछि कम्पनीले गुपचुप ७ गाडी फिर्ता लिएको हो।
‘सवारीसाधनमा संवेदनशील मानिने ब्रेक र स्टेरिङमै समस्या आएपछि मैले गाडी फिर्ता गरेर पैसा लिएँ,’ एक महिला ग्राहकले क्यापिटल नेपालसँग भनिन् ,‘भौगोलिक बनाबटका हिसाबमा पनि राजधानीको चक्रपथभित्रै सामान्य उकाला छन्। त्यसमा पनि नतान्ने भएपछि गाडी लिएको कामै भएन।’
ब्रेक र स्टेरिङमा समस्या आएर गाडी फिर्ता भए पनि एमएडब्लु वृद्धिले यसबारे कुनै सार्वजनिक जानकारी दिएको छैन। यद्यपि, गाडी सार्वजनिक गर्दा नै उक्त गाडीमा भूगोल र अवस्था हेरेर ह्यान्डलिङका लागि दुई वटा ड्राइभ मोड रहेको उल्लेख गरिएको थियो। यसमा रिजेनेरेटिभ ब्रेकिङको सिस्टम रहेको पनि कम्पनीको दाबी छ।
सेरेस मिनीमा समस्यादेखिपछि चीनबाटै सेरस कम्पनीका प्राविधिक नेपाल आएर ती गाडीको प्राविधिक परीक्षण गरेका थिए। चिनियाँ प्राविधिकले नै गाडीमा समस्या देखेपछि उनीहरुको सहमतिमा एमएडब्लूले ग्राहकलाई पैसा फिर्ता गरेर गाडी लिएको हो।
एमएडब्लु वृद्धिले सेरेस मिनी ईभी तीन भेरियन्टमा २०८० भदौमा नेपाल ल्याएको थियो। तीन भेरियन्टमा उपलब्ध यसको सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार यस मिनी ईभीमा १६.८ र १३.८ किलोवाट आवर (युनिट) लिथियम–आयन ब्याट्री विकल्प उपलब्ध छन्। उक्त गाडीमा भएको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिए पनि सोअनुसारको रेन्ज नभएको प्रयोगकर्ताको गुनासाे छ।
यस विषयमा एमएडब्लू वृद्धिका निर्देशक विवेक सिगरियासँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन मानेनन्।