काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले वर्षायाममा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाको निरन्तरता सुनिश्चित गर्न विभिन्न उपाय कार्यान्वयन गरिएको जनाएको छ।
विपद् पूर्वतयारी र प्रतिकार्य तयारीका रूपमा मनसुनसम्बन्धी प्रकोपका कारण दूरसञ्चार सेवामा हुन सक्ने अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा र्यापिड रेस्पोन्स टोली (आरआरटी) गठन गरिएको एनसेलले जनाएको छ।
यी टोलीलाई विशेष रूपमा आपतकालीन अवस्था सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुरु गर्न तालिम दिइनेछ। एनसेलले नियमित अवस्थाको तुलनामा फिल्डमा खटिने जनशक्ति १० प्रतिशतले बढाएको बताएको छ। अतिरिक्त जनशक्तिले सेवा अवरोध भए कम समयमै अवरुद्ध सेवा सञ्चालनका सहयोग गर्ने कम्पनीको भनाइ छ।
विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घन्टाभित्र सेवा सुरु गरिने प्रतिबद्धता एनसेलले जनाएको छ। विपद् समय विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थालाई दृष्टिगत गरी आफ्ना टावरमा ब्याट्री ब्याकअप व्यवस्था गरिएको कम्पनीले बताएको छ।
ब्याट्रीले लगातार विद्युत् आपूर्तिमा समस्या आए ४ देखि ६ घन्टासम्म टावर सञ्चालन गर्न सक्नेछन्। एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्विल पनि तयार गरेको छ।
यस्तै, जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढीपहिरोको सम्भावित जोखिमबारे एसएमएस अलर्टमार्फत पूर्वजानकारी दिँदै आएको छ।
गत वर्ष मात्र मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै १ करोड बढी यस्ता एसएमएस अलर्ट पठाएको कम्पनीको भनाइ छ।