काठमाडौं । सहकारी संस्था अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने संलग्नतासहितका ९ सहकारीको कागजात झिकाउने निर्णय गरेको छ।
आज बसेको समितिको बैठकले ९ सहकारी संस्थाको कागजात सरोकारवाला निकायबाट माग्ने निर्णय गरेको हो।
बैठकले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाले बताए।
कागजात मागिएका सहकारीमा लामिछाने संलग्न भनिएका पोखराको सूर्यदर्शनलगायत सहकारी संस्था रहेका छन्।
रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।
थापाका अनुसार ९ सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरणलगायत प्रतिवेदन मागिएको हो।