काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनीका ५ उद्यमी विद्यार्थीलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ।
मंगलबार एक कार्यक्रमबीच मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना उद्यमी विद्यार्थीलाई सम्मान गरेको हो।
पूर्वबैंकर एवं राजनीतिज्ञ अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभुषण ज्योती कंसाकार र मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति थियो।
शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ईकमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन्।
शाहले सम्बृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवा लाग्नुपर्ने बताए। ‘देश विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। यस्ता कार्यक्रमले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न हौसला प्रदान गर्छ,’ उनले भने, ‘सम्मानित भएका युवालाई आफ्नो प्रयास जारी राख्न र अरूलाई प्रेरित गर्न अनुरोध गर्दछु।’
यस्तै कार्यक्रममा कंसाकारले स्टार्टअप कल्चरबारे जानकारी दिँदै स्टार्टअप र इन्नोभेसनमा युवालाई प्रेरित गर्नुपर्ने बताए।
यस्तै नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष साहार जोशीले युवा उद्यमीको सफलतामा हौसला थप्दै भावी उद्यमशील पुस्ता तयार गर्न एनवाईईएफ प्रतिबद्ध रहेको जानकारी दिइन्।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थाना शाखले आफ्नो उद्यमशीलताको यात्रा पनि विद्यार्थी जीवनबाट सुरू भएको बताउँदै विद्यार्थी उद्यमीलाई प्रोत्साहन गर्न र एउटा प्लेटफर्म प्रदान गर्न इमर्जिङ लिडर आयोजना गरिएको बताइन्।
इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो। नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्न विविध कामहरू गर्दै आएको छ।