काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल वेलफेयर कम्पनीको सेयर सबैभन्दा कम छ। नेप्सेमा वेलफेयरको ४१ हजार कित्ता सेयर मात्रै सूचीकृत छ।
नेप्सेमा सबैभन्दा बढी कित्ता सेयर सूचीकृत भएको कम्पनी ग्लोबल आईएमई बैंक (जीबीआईएमई) हो। यसको ३६ करोड १२ लाख ८७ हजार ७०३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ।
कम कित्ता भएका अधिकांश कम्पनी लामो समयदेखि नेप्सेमा सूचीकृत भएमध्येमा पर्छन्। त्यसैले पनि कम कित्ता सूचीकृत भएका धेरै कम्पनीको सेयर कारोबार वर्षौंदेखि भएको पाइँदैन। जेठ महिनासम्मको मासिक प्रतिवेदनअनुसार नेप्सेमा सबैभन्दा कम कित्ता सेयर सूचीकृत भएका १० कम्पनीको विगत एक वर्षदेखि सेयर कारोबार भएको छैन।
यद्यपि एक वर्ष वा सोभन्दा लामो समयदेखि सेयर कारोबार नभएका कम्पनी यसअन्तर्गत छन्। त्यसो त नेप्सेले विभिन्न समयमा सूचीकृत भएर कारोबारमा नआएका कम्पनीलाई सूचीकरणबाट हटाउने (डिलिस्ट गर्ने) कार्य पनि गर्दछ। सूचीकरण शुल्क नबुझाई लामो समय कारोबारमा नआएका कम्पनीलाई समयसमयमा नेप्सेले डिलिस्ट गर्ने गर्दछ।
नेपाल वेलफेयर कम्पनी
नेपाल वेलफेयर कम्पनी लिमिटेड (एनडब्लुसी)को सबैभन्दा कम ४१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। उक्त सेयरमध्ये ५२.५० प्रतिशत अर्थात् २१ हजार ५२५ कित्ता सेयर संस्थापकको नाममा र ४७.५० प्रतिशत अर्थात् १९ हजार ४७५ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ। लामो समयदेखि कारोबार नभएको यस कम्पनीको सेयर अन्तिम कारोबार दिन ९५ रुपैयाँमा भएको थियो।
नेपाल खाद्य उद्योग
नेपाल खाद्य उद्योग लिमिटेड (एनकेयु)को ९० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। लामो समयदेखि कारोबार आउन नसकेको यस कम्पनीको सेयरको अन्तिम कारोबार ३२ रुपैयाँमा भएको थियो।
नेपाल वनस्पति घ्यू उद्योग
नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड (एनभीजी)को १ लाख १ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यसको १९.५० प्रतिशत अर्थात् १९ हजार ७४३ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ८०.५० प्रतिशत अथात् ८१ हजार ५०७ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। लामो समयदेखि कारोबार नभएको यस कम्पनीको सेयर अन्तिम पटक ३०० रुपैयाँमा भएको देखिन्छ।
बिराट सोई लिमिटेड
बिराट सोई लिमिटेड (बिएसएल)को १ लाख ६५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यस कम्पनीको सेयर अन्तिमपटक २८ रुपैयाँमा कारोबार भएको देखिन्छ। यस कम्पनीको सेयर पनि लामो समयदेखि कारोबारमा आउन सकेको छैन।
नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग
नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग लिमिटेड (एनबिबियु)को २ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। लामो समयदेखि कारोबारमा आउन नसकेको यस कम्पनीको सेयर अन्तिम पटक ६४ रुपैयाँमा भएको थियो।
सानिमा फाइनान्स
सानिमा फाइनान्स कम्पनी लिमिटेड (एसएफसी)को २ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यसमध्ये ४० प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सर्वसाधारणको र १ लाख ३५ हजार कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। लामो समयदेखि कारोबार नभएको यस कम्पनीको सेयर मूल्य अन्तिम पटक २३० रुपैयाँमा कारोबार भएको थियो।
फ्लेउर हिमालयन लिमिटेड
फ्लेउर हिमालयन लिमिटेड (एफएचएल)को २ लाख ६२ हजार १०२ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। जसको ४० प्रतिशत अर्थात् १ लाख ४ हजार ८४० कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ६० प्रतिशत अर्थात् १ लाख ५७ हजार २६२ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। लामो समयदेखि कारोबारमा आउन नसकेको यस कम्पनीको सेयर अन्तिम पटक ७५ रुपैयाँमा कारोबार भएको थियो।
अरुण वनस्पती उद्योग
अरुण वनस्पती उद्योग (एभीयू)को ५ लाख ५० हजार ३४३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। २५ प्रतिशत अर्थात् १ लाख ३७ हजार ५८५ कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा छ भने ७५ प्रतिशत अर्थात् ४ लाख १२ हजार ७५८ कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। लामो समयदेखि कारोबार हुन नसकेको यस कम्पनीको सेयर ५८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो।
नेपाल ल्युब आयल लिमिटेड
नेपाल ल्युब आयल लिमिटेड (एनएलओ)को ६ लाख ७ हजार ७०४ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। यस कम्पनीको सेयर गएको चैत १२ मा भएको थियो। उक्त दिन कम्पनीको सेयर मूल्य २५३ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो।
क्रिस्टल फाइनान्स
क्रिस्टल फाइनान्स लिमिटेड (सीएफएल)को ७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ। ३० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर सर्वसाधारणको स्वामित्वमा र ७० प्रतिशत अर्थात् ४ लाख ९० हजार कित्ता सेयर संस्थापकको स्वामित्वमा छ। लामो समयदेखि कारोबारमा आउन नसकेको यस सेयर अन्तिम पटक ११७ रुपैयाँमा कारोबार भएको देखिन्छ।