काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।
गत वर्ष हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत गत वर्ष साउन २ मा हङकङबाट नेपाल भित्र्याइएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिनेछ।’
दोस्रो चरणको अनुसन्धानका सीआईबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्सा वीरगञ्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जालाई पक्राउ गरी थुनामा राखेको छ।
यसैगरी काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रुपक भण्डारी, काठमाडौं–७ का प्रज्वल आचार्य, काठमाडौं सुविधानगरका सुरजशमशेर जबरालाई पनि पक्राउ गरी थुनामा राखिएको छ।
यस्तै, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गंगा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए।
उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद–बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा संलग्नमाथि अध्ययनको काम भइरहेको छ। यस्तै, फरार रहेका १५ जनाको खोजी कार्य जारी छ। उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
यसअघि सीआईबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ मा २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।–रासस