काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको ठूलो सम्भावना रहेको बताउँदै थप लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन्।
अस्ट्रियाको भियनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेट अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानी सम्भावना रहेकाले ओपेक फण्डका लागि लगानी गन्तव्य बन्न सक्ने बताएका हुन्।
अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा व्यक्त गरे।
उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे। ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको औंल्याए।
नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानी अवसर रहेको उनको भनाइ थियो।
त्यसैगरी उनले अर्को छिमेकी बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे। उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए।
सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुन संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकोसमेत उनले उल्लेख गरे।
‘महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित भएको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानी वातावरण निर्माणमा सहयोग पुग्नेछ’, उनले भने।
मलुकमा लगानी भित्र्याउन र लगानी वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिट आयोजना गरेको जानकारी दिए।
उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ता विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेकले गरेका लगानीको चर्चा गर्दै नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ओपेक फण्डले थप लगानी गर्न तयार रहेको बताए।
त्यसैगरी उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको जानकारी दिए। ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण उपलब्ध गराउने भएको छ।
यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले मंगलबार हस्ताक्षर गरे।