काठमाडौं। देशैभर मनसुनी सक्रिय भएको छ। मुलुकका विभिन्न भागमा मुसलधारे पानी परेपछि गएको बाढीपहिरोमा परेर पछिल्लो विवरणअनुसार ६ जनाकाे मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै बाढीपहिरोमा परेर कैयौं बेपत्ता भएका छन् भने लाखाैंकाे भाैतिक क्षति पुगेकाे छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ।
लमजुङमा पहिरोले पुरिँदा २ को मृत्यु
लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु र ३ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा बेंसीसहर नगरपालिका–११ चितीका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेको लमजुङ प्रहरीले जनाएको छ।
चितीका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मीनबहादुर घलेले बताए। क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएका छन्।
पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको छ। पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै बेपत्ता छन्।
अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ। मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र बेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन्।
कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु
कास्की प्रहरीका अनुसार अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा एक बालक, एक बालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राती पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।
पहिरोमा पुरिएकी ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र थिए। इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो।
यसैगरी गए राती नै पोखरा महानगर–२७ आरुपाटामा हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ।
पहिरोले घाइते भएकी सुनारकी श्रीमती रितुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। रितुका श्रीमान् र ९ वर्षीया छोरीको भने उद्धार गरिएको छ।
ओखलढुंगामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाइते
ओखलढुंगामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
चिसंखुुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते छन्। प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। पहिरोले एकतले घर र गोठ पुरेको छ।
विराटनगरमा ५०० घर डुबे
लगातारको वर्षापछि खोलामा आएको बाढी विरानगरका बस्तीमा पसेपछि करिब ५०० घर डुबेको मोरङ प्रहरीले जनाएको छ।
विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया खोलाको बाढी तटीय बस्तीमा पसेपछि ५०० घर डुबानमा परेको विराटनगर महानगर–६ का वडाध्यक्ष हरिशचन्द्र सहनीले बताए।
पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।