काठमाडौं । नेपाल वायुसेवा निगम(नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारी तत्कालका लागि निलम्बनमा परेका छन्। निगमको वाइडबी जहाजको सी–चेक (विस्तृत मर्मत सम्भार)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नै नलिई इटाली लगको भन्दै कार्यकारी अध्यक्ष अधिकारीसहित निगमका पाँच जना व्यवस्थापनलाई निलम्बन गरेको छ। सी–चेकका लागि जहाज लैजादा प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ।
हुन त प्राधिकरणबाट निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यसअघिनै कारबाहीका लागि पटक‑पटक प्रयास भए पनि सफल हुन सकेको थिएन। कयौं पटक स्पष्टीकरण सोध्दै निगमका अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजर खोस्ने तयारी गर्दा पनि सफल हुन नसकेको प्राधिकरण अहिले आफ्नै गल्तिको कारण कारबाहीमा अधिकारी परेका छन्। अर्थात् यो पटक भने प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई तत्कालका लागि भए पनि निलम्बन गर्न सफल भएको हो।
निगम अध्यक्ष अधिकारीसँगको निशानामा अप्रेशन विभाग प्रमुख क्याप्टेन दीपु जुहार्चन, क्यामो म्याजेनर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय महेशमान डंगोल र रमन घिमिरेलाई समेत परेका छन्। उनीहरूलाई समेत तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ।
...
युवराज अधिकारीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर काममा फर्किएको कारण पदबाट सरकारले हटाउन सक्दैन। तर, अध्यक्ष अधिकारी निगमको एकाउन्टेबल म्यानेजरसमेत भएकोले सो पद भने प्राधिकरणले खोस्न सक्छ। अधिकारी नेतृत्वको निगमले सोचेजस्तो काम गर्न नसकेको र ऋणको भारीमात्र बोकाएको भन्दै प्रधानमन्त्री कार्यालयदेखि पर्यटन मन्त्रालय समेत असन्तुष्ट बनिरहेको छ।
दुवै मन्त्रालयले जागिरबाट बर्खास्त गर्न नसक्ने भएपछि प्राधिकरण मार्फत अधिकार खोस्ने र अरुलाई जिम्मेवारी दिने तयारी अनुरुप लामो समयदेखि स्पष्टिकरण सोधिदै आएको छ। निगमले हवाई उड्डयन क्षेत्रमा खेलाइची गरेको, जहाज उडाउने भन्दा ग्राउण्ड ह्याण्डलिङ सेवामा मात्र जोड दिएको आरोप लाग्दै आएको छ।
उड्डयन नियामक प्राधिकरणले कयौं पटक स्पष्टिकरण सोधेर कार्यकारी अधिकार खोस्ने तयारी गरेपनि राजनीतिक उच्च नेतृत्वको दबाबमा जोगिँदै आएका अधिकारी यो पटक भने कार्वाहीमा परि छाडेका छन्। प्राधिकरणको आँखा छलेर नियमित उडानमार्फत दुवैमा जहाज लगेर त्यहीबाट सी चेकका लागि इटाली पुर्याएपछि उनी कारबाहीमा परेका हुन्। उनले तत्कालका लागि कार्याकारी अध्यक्षको भूमिकामा काम कारबाही गर्न पाउने छैन। अब प्राधिकरणले एकाउन्टेबल म्यानेजरको जिम्मेवारी अन्य व्यक्तिलाई तोक्न सक्छ।
प्राधिकरणबाट सहमती नै नलिएको इटालीको कम्पनीमा सी चेकका लागि जहाज लगेको घटनाको छानबिनका लागि प्राधिकरणले समिति गठन गर्ने छ। सो समितिले प्रतिवेदन बुझाएपछि मात्र अध्यक्ष अधिकारीको निलम्बन फुकुवा गर्ने वा नगर्ने निर्णय गर्ने प्राधिकरण श्रोतको भनाइ छ।
हाल अध्यक्ष अधिकारीको काम कार्वाही प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र पर्यटन मन्त्री हितबहादुर तामाङ समेत सन्तुष्ट छैनन्। जसले गर्दा एकाउन्टेबल म्यानेजरबाट तत्कालका लागि निलम्बन गर्न प्राधिकरणलाई बल पुगेको हो।
तत्कालिन पर्यटन मन्त्री प्रेम आलेले २०७८ कात्तिक ८ गते अधिकारीलाई कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेका थिए। तर, उनै मन्त्री आलेले २०७९ असार ६ गते नै निलम्बन गरेका थिए। अधिकारी सर्वोच्चबाट अन्तरिम आदेश लिएर काममा फर्किएका थिए।