हामी नयाँ आर्थिक वर्षको सँघारमा छौं। आउँदै गरेको नयाँ आर्थिक वर्ष केही वर्षपछिको उज्यालो आर्थिक वर्ष रहोस् भन्ने शुभकामना दिन्छु। हामी सम्भावना नै सम्भावनाको अवस्थामा छौं। यसबीचमा हामीले सानातिना बाधा अवरोध झेल्नुपर्यो तर आउने आर्थिक वर्षहरु हाम्रा लागि सुन्दर, उज्ज्वल र धेरै सम्भावना बोकेका हुनेछन्।
विगत केही वर्षदेखि मौद्रिक नीतिलाई आशापूर्ण तवरले हेर्न थालेका छन्। वित्त नीतिको भन्दा बढी प्राथमिकतामा मौद्रिक नीतिको बहस सुरु भएको हुन्छ। मौद्रिक नीतिका अक्षर/अक्षर महत्वपूर्ण हुन्छन् र हामीले ती अक्षरमा कयौं सपना साँचेका हुन्छौं।
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा विगतका भन्दा केही नयाँ विषयलाई समेटर अर्थतन्त्रका सबै पक्ष बलिया हुन सक्छन्, अर्थतन्त्तले नयाँ लय समाउन सक्छ र ठूलो अर्थतन्त्रको आकार बोकेर हिँड्न सक्छौं।
कोभिडकालदेखि नेपालले मात्रै नभएर विश्व अर्थतन्त्रले केही न केही संकटपूर्ण अवस्था सामना गर्नुपरेको छ। तर, बैंकहरुको धैर्य, निजी क्षेत्रको आत्मविश्वास र राष्ट्र बैंकको बुद्धिमत्तापूर्ण नियमनको कारणले अहिलेसम्म हाम्रो अर्थतन्त्रलाई बिग्रिने अवस्थामा पुग्नबाट जोगाएको छ।
नेपालको निर्यात आयातको तुलनामा कमजोर देखिन्छ। चालू वर्षको १० महिनामा नेपालले करिब १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात गर्दा १३ खर्ब बढीको आयात गरेका छौं। यसबीच नेपालको व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ बढी रहेको देखिन्छ।
हामीले यही रहेको स्रोतको अधिकतम प्रयोग बढाउन सरकार र निजी क्षेत्रका तर्फबाट विभिन्न किसिमका प्रयास गरिरहेका छौं। यसमा वित्त नीति र मौद्रिक नीतिको दिगोपन आवश्यक छ।
सबैभन्दा राम्रो पक्ष यसबीच करिब १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स करिब २० प्रतिशतले वृद्धि भएको छ। वैशाख मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९ खर्बभन्दा बढी पुगेको छ। यो सञ्चितिले साढे १२ महिनाका वस्तु तथा सेवा आयात गर्न पुग्छ। यो सबै तथ्यांकले हामीसँग स्रोत प्रशस्त छ भन्ने संकेत गर्छ। यसको अधिकतम प्रयोगको खाँचो छ। त्यसैले हाम्रो उद्यम व्यवसायको क्षेत्रलाई संकटपूर्ण भनेर देखाउनुपर्ने अवस्था अब छैन।
केही समय अर्थतन्त्रमा आएको शिथिलताले सबै क्षेत्रलाई छोएको हो। तर, अहिले हाम्रो उद्योग व्यवसायलाई संकटपूर्ण भनिरहने स्थिति देख्दिनँ। बैंकमा डिपोजिटको साइज ६२ खर्बमाथि पुगेको छ भने कर्जा ५१ खर्ब बढी गएको छ। साथै, कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) औषत ८० प्रतिशतभन्दा कम हुनुले पनि अर्थतन्त्र दबाबमा नरहेको संकेत गर्छ।
यस कारणले पनि हामीले हाम्रो उद्यम व्यवसायलाई संकटपूर्ण भनेर भनिरहनुपर्ने स्थीति छैन। केही समय अप्ठ्यारो परिस्थिति रहे पनि हामीले त्यसलाई विस्तारै चिर्दै लगेका छौं।
तर, अहिलेको अवस्थामा केही शिथिल भने पक्कै हो। यसमा कुनै एक पक्षको मात्रै दोष देखाउनुभन्दा सबै पक्षको केही न केही कमजोरी तथा दोष छन्। आर्थिक गतिविधि बढाउन व्यावसायिक जगतले आत्मविश्वास र इच्छाशक्ति बढाउनुपर्छ। कोभिडपछि अर्थतन्त्रमा केही समस्या देखापरेको हो। तर, पछिल्लो समय सबै कुरा सामान्य रूपमा चलिरहेजस्तो देखिन्छ। यदि हामी ‘स्टोन स्टील’ भएकै ठाउँमा बसिरह्यौं भने अघि बढ्न सक्दैनौं। त्यसैले हामी सबैले आ–आफ्ना तर्फबाट सक्ने गर्नुपर्छ। आवश्यकता भनेको आत्मविश्वास, इच्छाशक्ति र उद्यमशीलताको हो।
यति भन्दै गर्दा पनि सरकारको राजश्व संकलन लक्ष्य र पुँजीगत खर्चको लक्ष्य कति भइरहेको छ, त्यसले पनि प्रभाव पर्छ। यी विषयलाई पनि हामीले नजिकबाट मूल्यांकन गर्नुपर्ने देखिन्छ।
(सीईओ शेरचनबाट नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको आगामी मौद्रिक नीतिको पूर्वछलफलमा व्यक्त विचार। शेरचन म्यानका कार्यकारिणी सदस्य पनि हुन्)