काठमाडौं । गैरआवासीय नेपाली सोनाम लामाले एकैसाथ मुस्ताङको मुक्तिनाथ र काठमाडौंको ठमेलमा सञ्चालनमा ल्याएका दुई होटलमध्य लो मुस्ताङ हिमालयलाई पाँच तारेको मान्यता दिन पर्यटन विभागमा निवेदन दिएका छन्।
मुक्तिनाथमा जन्मिएर अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका लामाले २ वर्षअघि मुक्तिनाथमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ र ठमेलमा ‘लो मुस्ताङ होटल’ सञ्चालन गर्दै आएका छन्।
३ हजार ७ सय १० मिटरको उचाइमा सञ्चालित रिसोर्टलाई पाँच तारे लक्जरी रिसोर्टको मान्यता दिन पर्यटन विभागमा निवेदन दिएको सञ्चालक लामाले बताए।
मुस्ताङमा सञ्चालित सो रिसोर्टले पाँच तारेको मान्यता पाए जिल्लाकै पहिलो हुनेछ। मुक्तिनाथ दर्शन, मुस्ताङ भ्रमणमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लक्जरी सुविधा दिने उद्देश्यले रिसोर्ट स्तरोन्नति गरेर पाँच तारे लक्जरीका रूपमा सञ्चालन गरिरहेको उनले बताए।
‘अहिले पनि पाँच तारे लक्जरी रिसोर्टकै सेवा-सुविधा दिँदै आएका छौं,’ लामाले भने, ‘सरकारी मान्यताका लागि निवेदन दिएर एक चरणको अध्ययन पनि सकिसकेको छ। छिट्टै निर्णय आउला।’
रिसोर्टबाट धौलागिरि र नीलगिरि हिमालका दृष्य आँखैअगाडि देख्न सकिन्छ। स्याउ बगैंचा बीचमा रहेको रिसोर्टमा २८ कोठा छन्। यसमध्ये २० डिलक्स र चार भिल्ला छन्। अहिले २ वटा कोठा थप गरेर ३० वटा कोठा बनिसकेको छ।
एउटा भिल्लामा दुई⁄दुई कोठा छ। रिसोर्टमा बस्ने ग्राहकले प्रतिरात डिलक्स कोठाको १ सय ७० अमेरिकी डलर र भिल्लाको प्रतिकोठा २ सय १० डलर तिर्नुपर्छ। यसमा बिहानको खाजा र कर समावेश गरिएको छ।
रिसोर्ट आउने ग्राहकको थकान मेटाउन र चिसोबाट जोगाउन ज्याकुजी र सौनाको समेत व्यवस्था छ। प्रकृतिसँग निकट रहँदै योगा गर्न चाहनेका लागि रिसोर्टले छुट्टै व्यवस्थापन गरेको छ।
रिसोर्टबाट बास बस्ने मात्र नभई त्यहीँबाट विभिन्न प्याकेजमा टुरसमेत गराइन्छ। सञ्चालक लामाका अनुसार मुस्ताङमा प्रख्यात घोडचडी सुविधासमेत उपलब्ध छ।
पर्यटकलाई एडभेन्चर टुरिज्मको अनुभव दिलाउने उद्देश्यका साथ घोडासँगै यात्रा गरेर विभिन्न गन्तव्य पुर्याइन्छ। योसँगै मुक्तिनाथको भिलेज टुरसँगै ५ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा दर्शन गर्न पाइन्छ।
ठमेलको लो मुस्ताङ होटलले पायो चार तारे मान्यता
ठमेलमा सञ्चालित ‘लो मुस्ताङ होटल’ले चार तारे बुटिक होटलको मान्यता पाएको छ। २ रोपनी क्षेत्रफलमा ८५ वटा कोठा सञ्चालनमा रहेको होटललाई पर्यटन विभागले चार तारे बुटिक होटलको मान्यता दिएको हो।
हाल होटलमा डिलक्स, डिलक्स सुइट र स्ट्याण्डर्स रुमहरू रहेको छ। छैटौं तलामा स्वीमिङ पुल सञ्चालनमा रहेको होटलमा २ वटा रेष्टुरेन्टसँगै स्पासमेत सञ्चालनमा छ। मुस्ताङ र ठमेलमा सञ्चालनमा रहेको दुवै होटल स्टार अलाइन्स हस्पिटालिटीले व्यवस्थापन गर्दै आएको छ। होटलमा २ अर्बभन्दा बढी लगानी भएको छ। नेपाली मौलिकता देखाउने उद्देश्यले मुक्तिनाथ र ठमेलको होटल एउटै स्वरुपमा बनाइएका छन्।