काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अप्रेसन डाइरेक्टर दीपु ज्वारचनलाई तत्कालका लागि काम गर्न रोक लगाएको छ। प्राधिकरणले निगमको वाइडबडी जहाज ए ३३०, ९ एन–एएलवाई जहाज सी चेकका लागि अनुमति नलिई इटाली लगेको भन्दै दुवै जनालाई काम गर्न प्रतिबन्ध लगाएको हो।
प्राधिकरणका उपनिर्देशक ई.प्रभाकर चन्द्र मिल्लकले अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रुपमा तत्कालका लागि काम गर्न रोक लगाएको पत्र पठाएका छन्। शुक्रबार अधिकारीको योजनामा जहाज दुबई हुँदै इटाली पुर्याइएको थियो। सी चेक गराउने कम्पनीको समेत अनुमति नलिई सेड्युल उडानमा दुबई पुर्याएर इटाली पठाइएको थियो, जुन प्राधिकरणको नियमावली र ऐनविरुद्ध हो।
अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दीपु जुहारचन र क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत ग्राउन्डेड गरेको छ। त्यस्तै क्यामो म्याजेनर ज्ञानबहादुर कुँवरलाई समेत ग्राउन्डेड गरिएको छ।
जहाजको नियमित मर्मत तथा सबै प्रकारको मर्मतका लागि प्राधिकरण नियमावली, २०५८ को व्यवस्थाअनुसार प्राधिकरणबाट एओसी प्राप्त वायुसेवा कम्पनीले कुनै वायुयानको मेजर चेक, सीचेक तथा ओभरल चेक अपको काम गर्दा सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ।
वायुसेवा कम्पनीले वायुयानको के चेक गर्न लागेको हो, त्यसका लागि प्राधिकरणबाट अनुमति लिनुपर्छ किनकि चेक मात्रै गराएर होइन, चेक गराइसकेपछि त्यसलाई प्रमाणित पनि प्राधिकरणबाटै गराउनुपर्छ।
वायुसेवा कम्पनीले जुन कम्पनीबाट एमओ एयरक्राफ्ट मेन्टेन्स अर्गनाइजेसन सेवा लिन लागेको हो, त्यो कम्पनी पनि प्राधिकरणबाट स्वीकृत हुनुपर्दछ। तर, निगमले काठमाडौंबाट जहाज उडाउनुअघि अनुमति लिनुपर्ने भए पनि नलिएको पाइएको छ।
प्राधिकरण नियमावलीअनुसार एएमओ गर्नुभन्दा पहिले प्राधिकरणबाट स्वीकृत हुनुपर्छ। अहिले जहाज लगेको ठाउँको कम्पनी प्राधिकरणबाट अनुमोदन भएको छैन।