काठमाडौं। स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको आय/व्यय सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार हाल कायम ११ मध्ये ९ उप-महानगरपालिकाले करिब २१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
११ उपमहानगरमध्ये ९ वटाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल २० अर्ब ८२ करोड रुपैयाँ बढीको बजेट ल्याएका हुन्। तर, धरान उपमहानगर र जनकपुरधाम उपमहानगरले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन्।
स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ। इटहरी, कलैया, जितपुरसिमरा, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज र धनगढीले सोमबार आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका हुन्। तर, धरान र जनकपुरधाममा भने सहमति जुट्न नसक्दा बजेट ल्याउन सकेनन्।
जनकपुरधाम उपमहानगरका उपप्रमुख किशारी साहका अनुसार नगर प्रमुख बाहिर भएकाले नगरसभा बैठक बस्न नसकेको हो। ‘नगर प्रमुख काठमाडौंमा हुनुहुन्छ। उहाँ आएपछि बैठक बसेर बजेट ल्याउने योजनामा छौं,’ उपप्रमुख साहले भने, ‘अन्य विवादका कारण बजेट नआएको होइन।’ उनले नगर प्रमुख जनकपुरधाम फर्कनसाथ बैठक बसेर बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
धरान उपमहानगरमा भने नगर प्रमुख र वडा अध्यक्षहरूबीच कुरा नमिल्दा बजेट आउन नसकेको हो। नगर प्रमुख हर्क साम्पाङले आफू अनुकूल बजेट अगाडि सारेको आरोप लागेको छ। धरान उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र राईका अनुसार हालसम्म बजेट ल्याउन कुनै छलफल भएको छैन। ‘म कार्यालयमै छु। हालसम्म बजेट ल्याउने सहमतिका लागि मेयर र वडाध्यक्षबीच छलफल भएको जानकारी पाएको छैन,’ राईले भने। धरानले चालू आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ७२ करोडको बजेट ल्याएको थियो।
धनगढी उपमहानगर
धनगढी उपमहानगरले २ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। उपमहानगरले सोमबार ११औं नगरसभामा अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमसँगै २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँको अनुमानित बजेट ल्याएको हो। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले नीति तथा कार्यक्रम र उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत कुल बजेटमा चालुतर्फ १ अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पुँजीतर्फ ९८ करोड २६ लाख ८८ हजार १०२ रुपैयाँको बजेट विनियोजन गरिएको छ।
नेपालगञ्ज उपहानगर
नेपालगञ्ज उपहानगरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपमहानगर नगरसभाको १५औं अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले बजेट सार्वजनिक गरेका हुन्।
बजेटमा आम्दानीतर्फ ससर्त अनुदान (संघ) बाट ६१ करोड २४ लाख, समपूरक अनुदान (संघ) बाट १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, ससर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानीकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानीकरण (प्रदेश) बाट २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन लक्ष्य राखिएको छ।
इटहरी उपमहानगर
इटहरी उपमहानगरले ३ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो। सोमबार उपमहानगर उपप्रमुख संगीताकुमारी चौधरीले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा १ अर्ब ३२ करोड रुपैयाँले बढी हो। चालू वर्षका लागि इटहरीले २ अर्ब २५ करोड रुपैयाँको बजेट ल्याएको थियो।
बुटवल उपमहानगर
बुटवल उपमहानगरले २ अर्ब ९९ करोडको बजेट ल्याएको छ। आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभाको १५औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख रुपयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा चालूतर्फ ४८.६५ प्रतिशत र पुँजीगततर्फ ५१.३५ प्रतिशत रहने अनुमान गरिएको छ। बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ।
बुटलले वडाहरूको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ, वडा नम्बर १४ देखि १९ का ६ वटा वडालाई १–१ करोड विशेष विकास कार्यक्रममार्फत् बजेट विनियोजन गरेको छ। बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम पनि समावेश छन्।
घोराही उपमहानगर
घोराही उपमहानगरले साढे २ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार उपप्रमुख हुमाकुमारी डिसीले आर्थिक वर्ष २०८१/८२ का लागि नगरसभाको १५औं बैठकबाट २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा चालू खर्च १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२.३५ प्रतिशत र पुँजीगत खर्च १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७.६५ प्रतिशत रहेको छ।
घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथमिकता राख्दै बजेट बाँडफाँट गरेको छ। बजेटमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ। उपमहानगरभित्रका डाक्टर–इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ भने सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट छुट्याइएको छ।
तुलसीपुर उपमहानगर
तुलसीपुर उपमहानगरले २ अर्ब ७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमहानगरले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सोमबार उपमहानगर उपप्रमुख स्यानी चौधरीबाट प्रस्तुत बजेटमा सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशुतर्फ विनियोजन भएको छ।
कुल बजेटको ३०.५७ प्रतिशत अर्थात् ६३ करोड ४२ लाख ४९ हजार रुपैयाँ शिक्षामा छुट्याएको छ। स्वास्थ्यतर्फ ९ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख १४ हजार र अन्य शीर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै, पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अर्थात् दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैयाँ विनियोजन भएको छ।
कलैया उपमहानगर
कलैया उपमहानगरले १ अर्ब ५१ करोडको बजेट ल्याएको छ। सोमबारको नगरसभामा पालिका प्रमुख बिनोदप्रसाद साहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख रौशन परविनले आर्थिक वर्ष २०८१/८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट सार्वजनिक गरिन्। उपमहानगरले अगामी बजेटमा चालू खर्चतर्फ ३४ करोड ५९ लाख ३३ हजार र पुँजीगत खर्चतर्फ ५३ करोड ६२ लाख, समपूरक खर्चतर्फ १ करोड विनियोजन गरेको छ।
जीतपुरसिमरा उपमहानगर
जितपुरसिमरा उपमहानगरले २ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमहानगरले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेटमा संघीय सरकार र प्रदेश सरकारबाट आगामी आर्थिक वर्षको सिलिङ प्राप्त हुन आएको हुँदा ससर्त अनुदान संघ/प्रदेश ६३ करोड ४८ लाख आय अनुमान गरिएको छ।
संघीय/प्रदेश/स्थानीय सरकारबाट प्राप्त अनुदानतर्फ १ अर्ब ४ करोड ८ लाख ४ हजार आय अनुमान गरिएको छ भने राजस्व बाँडफाँट, मालपोत रजिष्ट्रेशन, विज्ञापन कर र ढुङ्गा गिट्टि बालुवा सहित राजश्व बाँडफाट संघ/प्रदेशबाट ३७ करोड ९३ लाख ३५ हजार आय अनुमान गरिएको छ। आन्तरिक राजश्व बैक मौज्दात सहित ६७ करोड ९८ लाख ५० हजार आय हुने अनुमान उपमहानगरको छ।
हेटौंडा उपमहानगर
हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ४३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। हेटौंडाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८० लाख ७१ हजारको बजेट सार्वजनिक गरेको हो। नगरसभा बैठकमा हेटौंडाका उपप्रमुख राजेश बानियाँले चालू आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २० हजार रुपैयाँले कम बजेट सार्वजनिक गरे। आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड, खानेपानीको महसुल भुक्तानीका लागि २ करोड ८ लाख विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ छ। उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासतर्फ ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख बजटे छुट्याएको छ।