काठमाडौं। प्रहरीले प्राइम कमर्सियल बैंक सञ्चालक नरेन्द्र वज्राचार्यसहित ६ जनालाई पौन १४ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको छ। वज्राचार्यसहितको समूहले काठमाडौंमा व्यापारिक सटरको स्वामित्व प्रलोभन देखाएर ठगी गरेको प्रहरीको भनाइ छ।
वज्राचार्यसहितको समूहले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटरको स्वामित्व हस्तान्तरण गर्ने प्रलोभन देखाएर रकम ठगेको प्रहरीमा उजुरी परेपछि ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समिति अध्यक्षसमेत रहेका वज्राचार्यसहितको ६ जनाको समूहले १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
प्रहरीले प्राइमका सञ्चालक वज्राचार्यसहितको समूहलले कलंकी ट्रेड सेन्टरको नाममा व्यापारीलाई सटर भाडामा दिने प्रलोभन दिएर करोडौं ठगी गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरेकाे प्रवक्ता अधिकारीले जनाए।
उनले भने, ‘नरेन्द्र वज्राचार्यले न्यूरोडका व्यापारीसँग कलंकीमा रहेको कलंकी टे«ड सेन्टरका सटर भाडामा दिने भन्दै पैसा उठाए पनि स्वामित्व नदिएको भन्दै उजुरी परेको थियो। वज्राचार्यलगायत अन्य ५ जनालाई छानबिनका लागि पक्राउ गरेका हौं,’ अधिकारीले क्यापिटल नेपालसँग भने।
प्रहरीले वज्राचार्यसँगै कलंकी ट्रेड सेन्टरका अन्य सञ्चालक राजु महर्जन, राजेशकृष्ण श्रेष्ठ, निरन्जनकुमार श्रेष्ठ, चिरञ्जीवी पौडेल र शान्तिरमण पंगेनीलाई पक्राउ गरेको छ। वज्राचार्यलगायत कम्पनी सञ्चालकले सटर भाडामा दिने भन्दै १३ करोड ७३ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएर स्वामित्व हस्तान्तरण नगरेको प्रहरीले बताएको छ।