काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा ग्राहकसँग ‘कमिसन’ माग्ने सयौंलाई कारबाही गरिसकेको बताएका छन्।
मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्वमौद्रिक नीति छलफलमा गभर्नर अधिकारीले कर्जा पास गराउने क्रममा ग्राहक खातामा बैंकका कर्मचारी वा सम्बध पक्षको खाता लिंक भएको र कारोबार भएको पाइएपछि सयौंलाई कारबाही गरिएको बताएका हुन्।
‘अहिले बैंकमा कर्जा लिँदा कमिसनको कुरा आएको छ। यो राष्ट्र बैंकका लागि स्वीर्काय विषय होइन। यसरी कर्जा लिँदा कुनै बैंकले वा कर्मचारीले ग्राहकसँग वा कसैसँग कमिसन लिएको प्रमाण सहित राष्ट्र बैंक आए तत्कालै कारबाही गर्छौं।’ ऋण लिन कमिसनको विषय केन्द्रीय बैंकका लागि सबैभन्दा ठूलो समस्या रहेको उनले औंल्याए।
राष्ट्र बैंकले ग्राहकलाई भएको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर सोहीअनुसारको सुपरिवेक्षण गर्न लागेको उनले जानकारी दिए। ‘व्यवसाय गर्न कर्जा लिनका लागि चालूपुँजी कर्जामा कुनै समस्या छैन। यदि कुनै समस्या भए सोझै राष्ट्र बैंकको ग्राहक संरक्षण महाशाखामा आएर भन्न सक्नुहुन्छ। हामी आगामी नीति निर्माण गर्दा त्यसलाई सम्बोधन गछौं। हामी ग्राहक संरक्षणसँग सम्बध रहेर सुपरिवेक्षण पनि गर्दै छौं,’ उनले भने।
गभर्नर अधिकारीले राष्ट्र बैंक आगामी मौद्रिक नीतिमा काम गरिरहेको जानकारी दिँदै मौद्रिक नीति सबैको अपेक्षा समेट्ने गरी आउने बताए।
‘विभिन्न फोरम तथा निकायका छलफलबाट आएका सुझावलाई पुन यथोचित छलफल गरी मौद्रिक नीतिमा समेट्ने प्रयास गर्छौं, अहिले मुद्रास्फीति सहज अवस्थामा छ। राष्ट्र बैंकले आगामी मौद्रिक नीति कस्तो ल्याउँछ भनेर सबैले सहजै अनुमान लगाउन सक्छन्। हामी प्रेडिक्टेबल छौं,’ उनले भने।
नियामकले नीति निर्देशन बनाउँदा कसैलाई ऋणमा डुबाउने नभएर सबै प्रकारका उद्यम व्यवसाय तथा व्यक्तिले धान्नेसम्म ऋण दिने भावना उजागर गरेर नीति बताउने उनको भनाइ छ।