काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका विषयमा महान्यायाधिवक्ता कार्यालयले दुई सुझाव दिएको छ।
बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये तीन उम्मेदवार प्रस्तुति तथा अन्तर्वार्तामा नगएपछि छनोट समितिले महान्यायाधिवक्ता कार्यालयसँग सुझाव मागेको थियो।
बोर्ड अध्यक्षमा अन्तर्वार्तामा उपस्थित दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ। अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको मागअनुसार बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा उक्त राय दिएको हो।
महान्यायाधिवक्ता कार्यालयले सोमबार आवेदन परेका पाँचमध्येबाट तीन जना छनोट गर्न वा पुरानो प्रक्रिया रद्द गरेर नयाँ थाल्न सुझाएको छ। अध्यक्ष छनोट समितिले सर्टलिस्टमा परेका पाँचमध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि अन्तर्वार्तामा अनुपस्थित भएका थियो। यसले छनोट प्रक्रियामाथि नै प्रश्न उब्जिएको थियो।
अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता पहिलो चरणमै भएको थियो। तर, बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईं लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए।
समितिले असार २ र ५ गते छनोटमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा बोलाएको थियो। तर उनीहरुमध्ये २ जना मात्रै उपस्थित भए भने ३ जना अनुपस्थित थिए।
धितोपत्रसम्बन्धी ऐनअनुसार ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुँदा अन्तर्वार्तामा उपस्थित २ जनालाई मात्रै सिफारिस गर्ने नगर्ने अन्योल भएपछि महान्यायाधिवक्तासँग राय मागिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयका एक नायव महान्यायाधिवक्ता अनुसार दुई जनाको नाम सिफारिस गर्न नमिल्ने व्याख्या गरेको हो। अब अन्तर्वार्ताका लागि उपस्थित दुई जना र प्रस्तुतीकरणका आधारमा एक जना छनोट गरेर ३ जना सिफारिस गर्ने वा छनौटमा परेका ५ जनाकै नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने भन्ने निर्णय समितिले नै लिनुपर्नेछ।
सोमबारको संसद् बैठकमा अर्थमन्त्री वर्षमान पुनले महान्यायाधिवक्ताको कार्यालयले राय दिएपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका थिए।
कानुनी व्यवस्थाअनुसार छनोट समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ। सेबोन अध्यक्ष रहेका रमेशकुमार हमाल २०८० पुस २० मा कार्यकाल सकाएर बाहिरिएदेखि बोर्ड नेतृत्वविहीन छ।