काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्न आज संसद् बैठकमा निर्णयार्थ पेस गरिँदै छ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
बजेट पारित गर्ने कार्यसूचीसँगै बैठकमा आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्, ‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस् र भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने तीन वटा विधेयक संसद् बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयको सूचनामा उल्लेख छ।
बिहान ११ बजेदेखि बसेको संसद् बैठकमा बैठकमा बजेट पारित गर्न निर्णयार्थ पेस गरिने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आ–आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।
एमाले र नेकपा माओवादी केन्द्रले सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।एमालेका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए।
मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले पनि सांसदहरुलाई अनिवार्य प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ।
यसअघि असार ७ मै विधेयक पास गर्ने भनिए पनि संसद् सचिवालयका कर्मचारीको आन्दोलनलगायतका कारणले पारितमा ढिलाइ भएको छ।
अर्थमन्त्री पुनले जेठ १५ मा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक गरेका थिए।