काठमाडौं–राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय क्षेत्र सबल भइसकेकाले वित्तीय स्थायित्वमा समस्या नभएको बताएका छन्।
नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा गइसकेकाले बाह्य क्षेत्र स्थायित्वमा समस्या नरहेकाले सबै पक्षलाई ढुक्क हुन आग्रह गरे।
उनले भने, ‘वित्तीय स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र मूल्य नियन्त्रण सबै ठीक अवस्थामा छन्। अतः आगामी मौद्रिक नीति लचिलो हुने गरी आउँछ।’
राष्ट्र बैंकले नीतिगत रूपमा काम गर्ने वातावरण बनाउने र त्यसका लागि धेरै प्रयास गरिरहेको ग गर्दै जाने उनले प्रतिबद्धता जनाए।
‘सबै बिग्रियो भनेर नकारात्मक सोच राख्ने र कर्मचारी कटौती गरेर निजी क्षेत्र संकुचित हुनेभन्दा केही सम्झौता गरेर भए पनि थप रोजगारी प्रदान गरी अर्थतन्त्र चलायमान बनाउन अगाडि सर्नुपर्छ,’ उनले भने।
गभर्नर अधिकारीले निर्माणका काम पनि घटेको र निर्माणको ‘ब्याकवार्ड लिकेज’ ठूलो भएका कारण त्यसलाई अगाडि बढाउन नसकिएको जनाए।
बजेटले त्यसलाई चिर्ने प्रयास गरेको र सोहीअनुसार मौद्रिक नीति आउने उनले बताए। ‘अहिले आर्थिक र मौद्रक हिसाबले धेरै सहज अवस्था छ। मुद्रास्फीति धेरै सहज अवस्थामा रहेको र २० वर्षको औसत ७ प्रतिशत रहेकामा ४.४ प्रतिशतको मुद्रास्फीति धेरै सहज हो’, उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले हालको अर्थतन्त्र मौद्रिक नीतिले धान्नुपर्ने भएको बताए। उनले मुलुकको आन्तरिक अवस्था पीडित रहेको र त्यो अवस्थालाई छिटो सुधार्नुपर्ने बताउँदै मौद्रिक नीतिले बजारलाई सम्बोधन गर्न नसकेको गुनासो गरे।
उनले भने, अर्थतन्त्र सुस्त हुनुको प्रमुख कारण नीतिगत अस्थिरता हो । सरकारको नीति कम्तिमा पनि २र३ वर्षसम्म स्थिर हुनुपर्ने हो तर स्थिर छैन। उद्योगलाई दिने कर्जा र व्यापारीलाई दिने कर्जामा २ प्रतिशत फरक हुनुपर्ने धारणा व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक शिथिलता कारण तीन दशकमा १ लाख १८ हजार बढी उद्योग कालोसूचीमा परेको बताए। अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रले व्यवसायीको मनोबल घटाएको र निजी क्षेत्रको मनोबल पुनः उत्थान नगरे देशको अर्थतन्त्र झन समस्यामा पर्ने उनको दाबी थियो।