काठमाडौं । मुलुकका ६ महानगरपालिकाले आधा खर्ब अर्थात् ५३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन्। सोमबारसम्म ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।
असार १ मा स्थानीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम पाँच महानगरले सोमबार बजेट सार्वजनिक गरे पनि वीरगन्ज महानगरले भने शनिबार नै बजेट सार्वजनिक गरेको थियो।
६ वटा महानगरमा मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरले २५ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। वीरगन्ज महानगरले २ अर्ब ८९ करोड, ललितपुरले ७ अर्ब ४६ करोड, भरतपुर महानगर ६ अर्ब ५५ करोड र विराटनगर महानगरले ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन्। यस्तै पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोडको बजेट ल्याएको छ।
काठमाडौं महानगरको २५ अर्ब ७० करोडको बजेट
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ। महानगरको नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक बजेट प्रस्तुत गरेका हुन्। महानगरले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। महानगरको बजेटमा ३० वटा स्वर्णिम योजना समावेश छन्। ती योजनाका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ। महानगरले ११ वटा गौरवका योजनालाई पनि प्राथमिकतामा राखेको छ। त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकासमा लागि १४ अर्बभन्दा बढी रकम छुट्याइएको भने सामाजिक विकासका लागि ३ अर्बभन्दा बढी छुट्याइएको छ। यस्तै, सुशासनका लागि १ अर्ब ८९ करोड भन्दा बढी छुट्याइएको छ। महानगरले सञ्चितकोषमा २४ अर्ब २० करोड आम्दानी हुने अनुमान गरेको छ। स्थानीय स्रोत र साधनलाई समन्यायिक ढंगले परिचालन गरेर गरिबी निवारण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने, सामाजिक सद्भाव र एकता अभिवृद्धिमा सघाउ पुर्याउने र स्वरोजगार बनाइ बिदेसिने दर घटाउनेलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ।
विराटनगर महानगरको साढे ३ अर्बको बजेट
विराटनगर महानगरपालिकाले साढे ३ अर्बको बजेट सार्वजनिक गरेको छ। महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको रुपैयाँको बजेट सार्वजनिक गरेको हो। स्थानीय सरकारले असार असार १० गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम विराटनगरले सोमबार महानगरको १४ औं नगर सभामा बजेट सार्वजनिक गरेको हो। नगर सभामा उपप्रमुख शिल्पा निरौला कार्कीले चालु वर्षको संशोधित बजेट भन्दा १३ करोड ८१ लाख २१ बढी बजेट सार्वजनिक गरेकी हुन्।
महानगरले आगामी वर्षको कूल अनुमानित बजेटका लागि वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, आन्तरिक आयबाट १ अर्ब १० करोड ८६ लाख ८५ हजार, वन रोयल्टीबाट ५ लाख ८२ हजार, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्त:शूल्कबाट ५ करोड ८५ लाख ४१ हजार, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख एक हजार, मनोरञ्जन तथा विज्ञापन करबाट एक करोड आय गर्ने लक्ष्य राखेको छ।
भरतपुर महानगरद्वारा ६ अर्ब ५५ करोडको बजेट प्रस्तुत
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले सोमबार चालू आर्थिक वर्षको तुलनामा बढाएर बजेट बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्ष २०८०/८१ का लागि भने महानगरले ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको थियो। सोमबार नगरसभा तथा १५ औं अधिवेशनमा नगरप्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम पेस गरिन् भने उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८१/८२ का बजेट पेस गरे।
बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघको राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार गरी ५८ करोड २२ लाख ६७ हजार रुपैयाँको अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्न १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।
ललितपुर महानगरको साढे ७ अर्बको बजेट
ललितपुर महानगरपालिकाले साढे ७ अर्बको बजेट ल्याएको छ। महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशत बढीको बजेट प्रस्तुत गरेको हो। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रस्तुत गरेको बजेटमा चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन गरिएको छ।
ललितपुर महानगरले आगामी वर्षका लागि सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन गरेको छ। पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरिएको छ। विषय क्षेत्रगत कार्यक्रमअन्तर्गत पूर्वाधार विकासतर्फ ४५ करोड ६२ लाख बजेट छुटयाइएको छ। प्रशासनिक खर्चतर्फका पारिश्रमिकलगायत अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालू खर्चतर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण ललितपुर महानगरले गरेको छ।
वीरगन्ज महानगरद्वारा २ अर्ब ८९ करोडको बजेट प्रस्तुत
वीरगन्ज महानगरपालिकाको २ अर्ब ८९ करोडको बजेट प्रस्तुत गरेको छ। महानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको हो। शनिबार १५ औं नगरसभामार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँ घटेर आएको हो। चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधितसहित ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात् ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि महानगरले खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ। त्यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च बेहोर्ने गरी बजेट व्यवस्थापन गरिएको छ। वीरगन्ज महानगरपालिकाले नीति वैभव वीरगन्जको परिकल्पना तथा धार्मिक स्थलको सौन्दर्यीकरण आन्तरिक पर्यटन स्थलको पहिचान प्रवर्द्धन र विस्तार तथा हराभरा सफा सुघर वीरगन्जको अवधारणालाई मूर्तरूप दिने विषयलाई प्राथमिकतामा राखेको छ।
पोखरा महानगरको साढे ७ अर्बको बजेट
पोखरा महानगरपालिकाले साढे ७ अर्बको बजेट सार्वजनिक गरेको छ। महानगरले सोमबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ५१ करोडको बजेट सार्वजनिक गरेको हो। महानगर उपप्रमुख मन्जुदेवी गुरुङले प्रस्तुत गरेको यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढीको छ। पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ। संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख दिने छ।
पोखरा महानगरले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ। आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ। महानगरले स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरेको छ। आगामी वर्ष पोखराले ५० लाखभन्दा बढीको योजनामा अनिवार्य प्रतिस्पर्धात्मक खरिद विधिबाट सञ्चालन गर्ने, बेरुजु फर्स्यौट नभएका उपभोक्ता समितिलाई नयाँ योजनाको समितिमा नराख्ने, योजनाहरूमा चैत मसान्तसम्म सम्झौता वा ठेक्का लगाएर जेठ मसान्तभित्र काम सक्नुपर्ने नीति लिएको छ।