काठमाडौं । कोसी प्रदशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि बहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ।
न्यायाधीश कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ।
त्यस्तै सोमबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस भएको थियो। सोमबारको बहसपछि मंगलबार जवाफ दिन करिब एक घन्टा समय चाहिने माग रिट निवेदकले गरेपछि हेर्दा हेर्दैमा राखिएको हो।
भोली मुख्यमन्त्रीका तर्फबाट एक जनाले मात्र वहस गर्ने अनि जवाफ दिने इजलासबाट निर्देशन भएको एक अधिवक्ताले बताए। सोमबार मुख्यमन्त्री कार्कीका तर्फबाट बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी, अधिवक्ताहरू माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावललगायतले बहस गरेका थिए। भोली अधिवक्ता एवं कोसी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुने छ।
जवाफी बहसका लागि बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्कीलगायतले तयारी गरेका छन्। संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएको आफूलाई हटाउन नमिल्ने अवस्थामा हटाएर नयाँ सरकार गठन गरेको दावी गर्दै उक्त निर्णय बदर माग गरेर उनले रिट दायर गरेका थिए। उक्त रिटमा भोली फैसला गर्दै कोशीमा कसको सरकार बन्ने निर्धारण गर्ने छ। सर्वोच्चले भोली हिक्मत कार्कीलाई मुख्यमन्त्री सदर गर्ने कि बदर गर्नेबारे निर्णय दिने छ।