काठमडौ । सर्वोच्च अदालतले पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सर्वोच्चले उनको हकमा आय गणना भने नमिलेको भन्दै केही हेरफेर हुने भनेको छ।
सर्वोच्चले अर्यालको हकमा कृषि आय र फर्निचर सम्बन्धी आयको गणनामा विशेष अदालतको फैसलासँग सहमत हुन नसकिएको भन्दै पुन: गणना गर्न आदेश गरेको छ। फैसलाको पूर्णपाठ सार्वजनिक भने भएको छैन। यो विवाद विशेष हुँदै २०६९ सालमा सर्वोच्च आएको थियो। उक्त विवादमा जेठ २२ गते अन्तिम सुनुवाए सकेर निसु तोकिएको थियो।
सोमबार निसुमा फैसला सुनाउँदै आंसिक ठहर हुने भनेको छ। त्यस्तै नेपाल सरकारको पुनरावेदन जिकीर नपुग्ने पनि फैसलामा भनिएको छ।
विशेष अदालतको फैसलाविरुद्ध सरकार र अर्याल दुवैले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उक्त मुद्दामा २०८१ जेठ १३ गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो।
२०६९ मंसिरमा विशेष अदालतले पूर्वरक्षा सचिव अर्याललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ६६ लाख जरिवाना र सोही बराबर बिगो असुल हुने भनेको थियो। विशेषका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्याललाई १ वर्ष र पदको दुरुपयोग गरेबापत थप ६ महिना थप गरि डेढ वर्ष जेल सजाय सुनाएको थियो।
अर्यालविरुद्ध अख्तियारले २०६० मंसिर १० गते मुद्दा दायर गरेको थियो। हदम्याद नलाग्ने भन्दै विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी समूहको इजलासले २०६४ असोज १४ गते उनको मुद्दा खारेज गरिदिएको थियो।
त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा गरेको पुनरावेदनमाथि २०६८ पुसमा न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले विशेषको फैसला उल्ट्याउँदै सुरु पुनः मुद्दा हेर्न मुद्दा विशेषमै फर्काइदिएको थियो।
सर्वोच्चको फैसलाअनुसार २०६८ वैशाख १२ गते अर्यालविरुद्ध अख्तियारले पुनः विशेषमै मुद्दा दायर गरेको थियो। दायर भएको ७ महिनापछि विशेषले फैसला सुनाउँदै अर्याललाई भ्रष्टाचारी ठहर गरेको थियो।
अर्याल २०२२ माघ १७ गते निजामती सेवामा अधिकृतका रूपमा प्रवेश गरेका थिए। पदोन्नति हुँदै रक्षा सचिव भएका उनको अवकाश ५६ वैशाख २२ मा भएको थियो। सेवा कालमा उनले गुल्मी, मोरङ, झापा र सुर्खेतमा प्रमुख जिल्ला अधिकारी भएर ११ वर्ष बिताएका थिए। ४ वर्ष रक्षा सचिव भएका अर्यालले पदमा छँदा अकुत सम्पत्ति कमाएको अभियोगमा उनीविरुद्ध अख्तियारले छानबिन गरी मुद्दा चलाएको थियो।
अख्तियारको अभियोगपत्रमा अर्यालसँग ४ करोड ८ लाख ८० हजार रुपैयाँ कुल सम्पत्ति भएको जिकिर थियो। त्यसमध्ये १ करोड ४७ लाख ९९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको भन्दै अर्यालले २ करोड ६० लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो। विशेषले भने अर्यालको सम्पत्तिमध्ये ६६ लाख २ हजार रुपैयाँको मात्रै स्रोत नखुलेको ठहर गरेको थियो।