काठमाडौं। विशेष अदालतले डोल्पाको मुड्केचुला गाउँपालिका घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनालाई जरिमाना र कैद सजायको फैसला सुनाएको छ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उपभोक्ता समिति अध्यक्ष, गाउँपालिकाका इन्जिनियर र ओभरसियरलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो।
विशेष अदालतले गाउँपालिकाका निमित्त वडाध्यक्षसहितलाई भने संलग्न पुष्टि नभएको भन्दै सफाइ दिएको छ। बढी रकमको बिल भौचर बनाउन स्वीकृत गरेका गाउँपालिकाका दुई कर्मचारी इन्जिनियर देवराज रावत र ओभरसियर दीपनारायण यादव दोषी ठहर भएका छन्। विशेषले उनीहरुलाई जनही तीन महिना कैद र तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिमानाको फैसला सुनाएको छ।
यस्तै, घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकायालाई पनि दोषी ठहर गरेको छ। विशेषले अध्यक्ष रोकायालाई तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिमाना हुने र कैद नहुने फैसला सुनाएको छ। उत्त रकम कायम भएको विगो १० लाख ९७ हजार ९५० रुपैयाँ २९ पैसा उनीबाटै असुल हुने विशेषको फैसलामा उल्लेख छ।
गाउँ कार्यपालिका कार्यालय डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सडक आयोजना सञ्चालन भएको मुड्केचुला गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई विशेषले सफाइ दिएको छ।