काठमाडौं। चितवनको भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
असार १० भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार महानगरको नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिको बजेट पेस गरेका हुन्।
महानगरले ल्याएको यो बजेट चालू आवको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो। कुल बजेटमा १ अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान अधिकारीले पेस गरेका छन्।
बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघको राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार गरी ५८ करोड २२ लाख ६७ हजार रुपैयाँको अनुमान गरिएको छ।
सामाजिक सुरक्षालगायत अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको उनको भनाइ छ। चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्न १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको अधिकारीले जानकारी दिए।
महानगरका ठुला तथा रणनीतिक महत्त्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं संघीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदानअन्तर्गतका योजना कार्यान्वयन गर्न समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन १२ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
महानगरले दियालो बंगलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी संग्रहालयका रूपमा सञ्चालनमा ल्याउन १ करोड बजेट विनियोजन गरेको छ। बजेटमा सहरी पूर्वाधार, भू–उपयोग, रोजगार प्रवर्द्धन र पर्यटनलगायतलाई विशेष प्राथमिकतामा राखिएको अधिकारीले बताए।