विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ। चालू आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएकोमा यस पटक थोरै बढाएर ल्याएको हो।
सोमबार उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालू आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ।
समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ। महानगरपालिकाले १९ वटा वडालाई दुई करोडका दरले बजेट दिएको छ।
महानगरले बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाको भुक्तानीका लागि ५० करोड विनियोजन गरिएको छ। बस्ती विकास र तराई मधेस समृद्धि कार्यक्रमका लागि ५ करोड ६० लाख विनियोजन गरिएको छ।
मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन रिएको उपमेयर कार्कीले बताइन्।
महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गर्दा सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ।
महानगरले कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख, विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ।
चालू आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म ६४.१३ प्रतिशत अर्थात २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ। खर्चमध्ये महानगरले चालूतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च गरेको हो।