काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायबाट आर्थिक वर्ष २०८१/८२ मा गरिने कार्यक्रम तथा बजेट विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष आफू र आफू मातहतका निकायबाट सञ्चालन हुने प्रमुख वार्षिक कार्यक्रम तथा बजेट विवरण सार्वजनिक गरेको हो।
गत जेठ १५ मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा अर्थमन्त्री वर्षमान पुनले सञ्चार मन्त्रालय र मातहत निकायका लागि ७ अर्ब ३५ करोड २९ लाख बजेट विनियोजन गरेका थिए। विनियोजित उक्त बजेटबाट सञ्चालन हुने ५ लाख रुपैयाँ भन्दा बढीको बजेट तथा कार्यक्रम मन्त्रालयले सार्वजनिक गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिभिजन, रेडियो प्रसारण सेवा विकास समिति (रेडियो नेपाल), गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति, प्रेस काउन्सील नेपाल र चलचित्र विकास बोर्डले मन्त्रालय अन्तर्गतको कार्यक्षेत्रसँग सम्बन्धीत लक्ष्य हासिल गर्न आफ्ै आन्तरिक स्रोस समेतबाट वार्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गरेका छन्।
मन्त्रालयका अनुुसार छापामाध्यमबाट लोककल्याणकारी विज्ञापन (विज्ञापन बोर्डलाई अनुदान)का लागि २० करोड रुपैयाँ छुट्याइएको छ। यस्तै, रेडियो÷एफएम रेडियो, टेलिभिजनबाट लोककल्याणकारी विज्ञापन (विज्ञापन बोर्डलाई अनुदान)का लागि ८ करोड छुट्याइएको छ।
मन्त्रालयले काभ्रेको बनेपामा अत्याधुनिक स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डलाई २ करोड, युट्युब व्यवस्थापन र अभिमुखीकरणका लागि १० लाख ५ हजार, डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन तथा कार्यान्वयन सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरणका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ।
केन्द्र र सातै प्रदेशमा आईसीटी एक्विबिसन सञ्चालन गर्न १ करोड ३१ लाख, कोहोलपुरमा डाटा सेन्टर निर्माणका लागि ११ करोड ७० लाख र ललितपुरमा डाटा सेन्टर तथा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माण गर्न १६ करोड ९१ लाख बजेट छुट्याइएको छ।
यस्तै, सरकारको केन्द्रीय इमेल, वेभ होस्टिङ सञ्चालन गर्न हार्डवेयर, नेटवर्किङ र सेक्युरिटिसम्बन्धी उपकरण खरिदका लागि ७ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
मौलिक चलचित्र निर्माणमा प्रोत्साहनका लागि स्टोरी बैक सञ्चालन गर्न २५ लाख, राष्ट्रिय समाचार समितिलाई चौबीसै घन्टा नेपाली भाषामा समाचार सेवा सञ्चालन गर्न अनुदान २५ लाख, राष्ट्रिय समाचार समितिलाई मातृभाषामा समाचार बुलेटिन प्रकाशनका लागि अनुदानका लागि २४ लाख र दाङमा कृष्णसेन इच्छुक सञ्चारग्राम्र निर्माणका लागि रेडियो नेपाललाई ५० लाख अनुदान दिइनेछ।
प्रसारण पहुँच विस्तारका लागि रेडियो नेपाललाई ३ करोड अनुदान, चलचित्र बोर्डको भवनमा पोस्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्न चलचित्र विकास बोर्डलाई १ करोड अनुदान, राष्ट्रिय समाचार समितिको विभिन्न स्थानमा विद्यमान भवन (निर्मित संरचना)को मर्मतसुधार कार्यक्रमका लागि राससलाई १० लाख अनुदान दिइने सञ्चार मन्त्रालयले उल्लेख गरेको छ।