काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।
नेपालमै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरिएको अवसरमा कम्पनीले ‘हुन्डाई नेपालम् मेड फर योअर जर्नी’ ग्राहकमुखी योजना ल्याएको छ। योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यू मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फर्मेन्सलगायतका गुण हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीसरहकै हुने कम्पनीको दाबी छ।
स्वदेशमै उत्पादन गरी देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योग स्थापना, आन्तरिक स्रोत तथा विद्युत् खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्यू १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यू १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार कायम गरिएको कम्पनीले बताएको छ।