काठमाडौं । मणिहर्ष कंशाकारले स्थापित गरेको ज्योति समूह लामो समयदेखि मुद्दामामिलामा फस्दै गएको छ। कंशाकारका छोराहरू पद्म ज्योति र डा. रूप ज्योति एकअर्काविरुद्ध मुद्दामामिला गरेर सम्पत्ति हत्याउने होडबाजीमा लागेका छन्। खासगरि मणिहर्षको निधनपछि ज्योति समूह (व्यापारिक घराना) आफ्नै परिवारविरुद्ध एकअर्काविरुद्ध मुद्दा हाल्ने र कसरी सम्पत्ति आफ्नो कब्जामा ल्याउने भन्ने होडमा फसेको छ। त्यति मात्र होइन दुई दाजुभाइको लडाइँले कतिपय व्यवसाय उनीहरूको हात फुत्किँदै गएको छ।
काठमाडौंको नेवार खानदान अनि राजपरिवारसँग निकट सम्बन्ध भएका मणिहर्षले छोटो समयमै आफ्नो व्यापारिक साम्राज्य खडा गरेका थिए। रैथाने नेवार जातिमा छुट्टै व्यापारिक घरानाका रूपमा मणिहर्षले दीर्घकालीन रूपमा दरो साम्राज्य खडा गर्दै उद्योगी घरानामा आफूलाई स्थापित गराए। बुबा भाजुरत्नले व्यावसायिक जग हाले पनि व्यवसायलाई स्थापित गर्ने काम मणिहर्षले गरे।
पञ्चायत हुँदै २०४७ को बहुदलीय संविधान जारी हुँदासम्म ज्योति परिवारको राजपरिवारसँग राम्रै सम्बन्ध र हिमचिम थियो। यसले उनीहरूलाई व्यापारिक साम्राज्य विस्तार गर्न सहयोग पनि पुर्यायो। २०६१ मा राजा ज्ञानेन्द्र विरविक्रम शाहले शासनसत्ता आफ्नो हातमा लिँदा डा. रुपज्योति अर्थ सहायक मन्त्री समेत भए।
दुई दाजुभाइ पद्य र रूपबीचको लडाइँ बिस्तारै उनीहरूका छोराहरू सौरभ ज्योति, सुहृद ज्योति र अभिक ज्योतिमा समेत सरेको छ। अहिले ज्योति समूहको तेस्रो पुस्ता पनि अदालत धाइरहेको छ।
२०७८ पुस २७ मा भाजुरत्न फर्माको तर्फबाट शेयरधनी सौरभ ज्योति र सुह्द ज्योतिले रूप ज्योतिसहितका विरुद्ध रिट दायर गरेका थिए। सौरभले तत्कालीन समयमा आफ्ना बुवा देखि काकासम्मलाई विपक्षी बनाएर नौ वटा रिट दायर गरेका थिए। तर, उच्च अदालत पाटनका न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र विपुल न्यौपानेको इजलासले २०७९ माघ १७ मा फैसला सुनाउँदै सौरभको दाबी नपुग्ने ठहर गरी रिट खारेज गरिदियो। अर्थात् सौरभलाई हराइदियो।
मुद्दा हारेपछि करिब एक वर्ष अदालतमा कुनै मुद्दा परेन। तर, २०८१ जेठ २४ मा फेरी मुद्दा पुर्यो। ज्योति एण्ड कम्पनी प्रालिविरुद्ध ग्रान्डी इन्टरनेशनल अस्पतालसमेत ७ जना विरुद्ध ज्योति समूहले नयाँ मुद्दा दायर ग¥यो। सो मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले पत्रिकामा सूचना प्रकाशित गर्ने आदेश २०८१ असार २ मा गर्यो। अदालतको आदेशसँगै ज्योति समूहको विवाद अब केही दिनमा पत्रपत्रिकामा प्रकाशित भई छताछुल्ल हुने छ।
ज्योति ग्रुपको व्यापार, उद्योगसँगै घरजग्गामा पनि ठूलो लगानी छ। काठमाडौंको व्यापारिक क्षेत्रदेखि मुलुकका विभिन्न ठाउँमा ज्योति समूहको घरजग्गामा लगानी छ।
के हो ग्रान्डी र ज्योति समूहको विवाद
ग्रान्डी इन्टरनेशनल अस्पतालमा ज्योति समूहले करिब १ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको दाबी छ। पछिल्लो पटकको साधारण सभादेखि ज्योति समूह असन्तुष्ट देखिँदै आएको छ। विवादबीच स्थापनाकालदेखिका एक लगानीकर्ता डा. चक्रराज पाण्डे अस्पतालबाट बाहिरिएका छन्। अहिले ज्योति समूहले अस्पतालबाट कि आफ्नो लगानी फिर्ता हुनुपर्ने होइन भने व्यवस्थापनमा आफूहरूको प्रवेश अनिवार्य भएको दाबी गरिरहेको छ।
ज्योति समूहको विवाद २०७८ मा प्रहरी कार्यालयसम्म पुगेको थियो। डा. रूप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ र सुहृद ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए।
तर, ज्योति समूहभित्र नै नेतृत्वलाई लिएर निरन्तर विवाद र झगडा चलिरहेको छ। मणिहर्षको अविवाहित छोरी कमला कंशाकार जता मिल्यो त्यतै निर्णय हुने अवस्था सिर्जना भएको छ। कमला रूप ज्योतितिर लागेर केही समय पहिला पद्य ज्योतिलाई ज्योति समूहको अध्यक्षबाट हटाइएको थियो। ज्योति समूहको लगानी रहेको सबै कम्पनीमा कसको अधिकार हुने भन्ने विषयले ग्राण्डी अस्पतालमा विवादमा तानिएको हो।
ग्राण्डी अस्पतालले कान्तिपथमा सिटी अस्पताल पनि सञ्चालन गरेको छ। ज्योति भवनमै सञ्चालित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटलको भाइ रूप ज्योतिले भाडा नदिएको र अस्पताल पनि अवैध रहेको दाजु पद्य ज्योतिले आरोप लगाएपछि रूप ज्योतिले नियमित भाडा तिरिरहेको र अस्पतालमा पद्य ज्योतिको पनि शेयर रहेको विज्ञप्ति नै निकालेर खण्डन गरेका थिए।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ज्योति समूह र डा. उपेन्द्र महतोको २५/२५ प्रतिशत र ५० प्रतिशत सेयर अहिलेको सञ्चालक समितिका अध्यक्ष दीपक कुँवरसहित अन्य सञ्चालक समितिका निर्देशकहरू विजय राजभण्डारी, डा.चक्रराज पाण्डे, वीरेन्द्रबहादुर श्रेष्ठ, साधुराम पाण्डे, सुवर्णकृष्ण मल्ल, डा. सविना श्रेष्ठ बिजुक्छे र अन्य ११७ जनाको सेयर होल्डरको नाममा लगानी छ। ग्राण्डीमा रहेको त्यहीँ २५ प्रतिशत शेयर कसले लिने भन्ने छुट्टै विवाद ज्योति समूहभित्र छ। ग्राण्डीमा लगानी मात्र भइरहेको तर, ऋणको ब्याज पनि नपाएको भन्दै ज्योति समूह असन्तुष्ट छ। तर, अस्पतालका अन्य लगानीकर्ताहरू र ज्योति समूहकै बीचमा ज्योति समूहको लगानीकै विषयमा मतभेद देखिन्छ। ज्योति समूहले दाबी गरे झैँ लगानी नभएको अस्पतालका अन्य लगानीकर्ताको दाबी छ।
यस्ता छन् अदालतमा ज्योति समूहका श्रृखलावद्ध मुद्दा
सौरभ ज्योतिले आफ्ना काका अध्यक्ष रहेका कम्पनीहरू ज्योति एण्ड कम्पनी प्रालि, भाजुरत्न ईन्जिनियरिंग एण्ड सेल्स लि, भाजुरत्न फर्मा प्रालि, हिमाल एण्ड कम्पनी प्रालि, स्यामुकापु एण्ड कम्पनी प्रालि, ज्योति यार्न प्रोसेसिंग कम्पनी भाजुरत्न कम्पनी प्रालिसमेत, म्यानेजमेन्ट सर्भिसेज प्रालि र स्याकर कम्पनी प्रालिविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि कुनै समय उच्चमा हरेक दिनजसो ज्योति समूहको पेशी तोकिने र सुनुवाइ हुने गर्दथ्यो। पछि उच्च अदालतले ज्योति समूहका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो। हालै दर्ता भएका दुई वटा रिटमा फैसला आउन बाँकी भए पनि अन्य मुद्दाको छिनोफानो भइसकेको छ।
ज्योति समूहका सबै जसो कम्पनीमा रूप ज्योति अध्यक्ष भएपछि पद्म र रूप ज्योतिको परिवारबीच विवाद सुरु भएको हो। पद्म ज्योति अध्यक्ष रहेको कम्पनीबाट भाइ रूप ज्योतिले एकलौटी रूपमा हटाएको भन्दै पद्म ज्योतिको परिवारले अस्वीकार गरेसँगै विवाद बढ्दै गएर अदालतसम्म पुगेको हो।
ज्योति समूहको विवाद २०७८ मा प्रहरी कार्यालयसम्म पुगेको थियो। डा. रूप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ र सुहृद ज्योतिले आफ्नो सम्पत्ति हत्याएको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। प्रहरीले त्यो बेला उजुरी भने लिएन। पारिवारिक सम्पत्तिको विवादमा प्रहरीले केही गर्न नसक्ने भएपछि ज्योति परिवारको विवाद अदालतमा पुगेको हो। सिंगापुरबाट सिल्क एअरमा काठमाडौं आएका रूप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी परिसर काठमाडौंले २०७६ कात्तिक २१ मा पक्राउ गरेको थियो।
प्रहरीमा उजुरी दिएको केही समयपछि ज्योति समूहको अध्यक्ष डा. रूप ज्योति भएको भन्दै बधाई दिइएको थियो। ज्योति समूहको अध्यक्षका रूपमा अहिलेसम्म भूमिका निर्वाह गरेकोमा पद्म ज्योतिलाई धन्यवादसमेत दिइयो। दाजुभाइको लडाइँमा बहिनी कमलाले रूप ज्योतिलाई साथ दिँदै बहुमत पुर्याउन सहयोग गरेकी थिइन। कमलासँग बाबु मणिहर्षको मृत्युपछि आमामा सरेको सम्पत्ति र आमाको मृत्युपछि आफूमा आएको सम्पत्तिको हिस्सा छ। मणिहर्षले कान्तिपथको व्यावसायिक जग्गा र घरसहितको जग्गामा दुई भाइलाई अंशबण्डा गरेपछि एक हिस्सा आफूमा राखेका थिए । त्यही सम्पत्ति कमलाको नाममा आएको हो।
त्यतिबेला विजेन्द्र जोशीले डा रूप ज्योतिबाट जग्गा र पैसा नपाएकाले आफू ठगिएको भन्दै पक्राउ गरी कारबाही गर्न ठगीको उजुरी दिएका थिए। रूप ज्योतिको बुझाइमा दाइ पद्य ज्योतिले उक्साएर जोशीलाई उजुरी दिन लगाएको र पक्राउपछि हात बाँधेर बसेको भन्ने छ।
डा. रूप ज्योति ठगी मुद्दामा पक्राउ गरेपछि परिवारभित्र सम्पत्तिको विवाद झनै बढ्दै गयो। रूप ज्योति विरुद्धको ठगी मुद्दा पछि फिर्ता भयो। त्यो बेला पक्राउ गर्नु नपर्ने केसमा प्रहरीले आफूलाई पक्रेको रूप ज्योतिको ठम्याई छ। रूप ज्योतिले पद्म ज्योतिका कान्छा छोरा शुहृद ज्योतिलाई आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलर भाजुरत्न प्रालि नामक कम्पनी खोलेर खोसेको आरोपसमेत लगाएका छन्।
रूप ज्योतिले दाइ पद्म र भतिजहरू सौरभ र शुहृदले आफ्नो नाममा भएको पारिवारिक सम्पत्ति हडपेको आरोप लगाउँदै आएका छन्।