काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्री विवादमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ।
जेठ ३१ गतेदेखि हेर्दा हेर्दैमा रहेको मुद्दामा आज मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस हुँदै छ। यसअघि केदार कार्की पक्षले बहस गरेको थियो।
न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा जेठ ३१ गतेदेखि बहस जारी रहेको छ। पहिलो दिन निवेदक कार्कीका तर्फबाट बहस भएको थियो । उक्त दिनमा निवेदकले मात्र बहसको समय मागेका थिए। निवेदकको बहस सकिएकाले आइतबारबाट मुख्यमन्त्री कार्की र सरकारी वकिलले बहस गर्ने छन्। उनीहरूको बहस सकिएपछि पुन निवेदकले जवाफी बहसको समय पाउने छन्।
मुद्दामा कानुन व्यवसायीको संख्या धेरै भएकाले थप एक दिन हेर्दा हेर्दै जाने सम्भावना छ। रिट निवेदकका तर्फबाट जेठ ३१ गते अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, यदुनाथ खनाल, शेरबहादुर केसी, शम्भु थापा, अधिवक्ताहरू ललितकुमार बस्नेत, विकास भट्टराईलगायतले बहस गरेका थिए।
मुख्यमन्त्री कार्कीका तर्फबाट भने वरिष्ठ अधिवक्ताहरू रमेश बडाल, रविनारायण खनाल, टिकाराम भट्टराईलगायतले बहस गर्ने तयारी गरेका छन्।
अघिल्लो बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीले एकल इजलासले उठाएका पाँच विषयमा केन्द्रित हुँदै मुख्यमन्त्री कार्कीलाई गरिएको नियुक्ति गैरकानुनी भएको जिकिर गरेका थिए।
आजको बहसमा कानुन व्यवसायीले मुख्यमन्त्री कार्कीको नियुक्ति संविधान अनुसार नै भएको जिकिर गर्ने छन्। त्यस्तै उनीहरूले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्ति गर्ने र बर्खास्त गर्ने अधिकार संविधानले नै दिएको जिकिरको तयारी गरेका छन्।
उनीहरूले यसअघि बहसका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री नियुक्ति प्रक्रियाको बचाउ गर्ने छन्।