काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो आउने चर्चासँगै चलायमान देखिएको सेयर बजार सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने अफवाहको सिकार भएको छ। लचिलो मौद्रिक नीतिको आसमा जेठ २७–३१ सम्मको ५ कारोबार दिनमा ३९.१ अंकले बढेर २११२.२९ विन्दुमा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत साता सेयर कारोबारमा ३९ प्रतिशतसम्म कर लाग्ने चर्चाले असार २–६ सम्मको ४ कारोबार दिनमा ४३.९८ अंकले घटेर २०६८.३१ बिन्दुमा रोकिएको छ।
असार २ गते आइतबार विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन सार्वजनिक भएसँगै सेयर कारोबारबाट गरेको नाफा वार्षिक आम्दानीका रूपमा लिई अन्य व्यवसाय सरह आयकरको व्यवस्था (हालको दर) अनुसार ३९ प्रतिशतसम्म कर असुल गर्न दिइएको सुझावलाई आधार बनाएर सेयर बजारलाई प्रभावित बनाउने काम भयो। यद्यपि समितिको सुझाव सरकारले हुबहु लागू गरे पनि चालू वर्ष र आगामी वर्ष कार्यान्वयन हुने सम्भावना कम छ। सरकारले २०८० भदौ २९ गते गठित मल्लिक समितिले फागुनमा बुझाएको थियो।
तर, सेयर कारोबारीहरूले मल्लिक समितिको प्रतिवेदनलाई आधार बनाएर सेयर कारोबारमा ३९ प्रतिशतसम्म कर लाग्ने हौवा पिटाई बजारलाई झार्ने काम भयो। त्यति मात्र होइन कारोबार रकममा पनि उच्च गिरावट देखियो। अघिल्लो साता (जेठ २७–३१ अवधिमा) २८ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा गत साता करिब ४२ प्रतिशतले कमी आई १६ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ। त्यसअघि जेठ २०–२४ अवधिमा पनि २० अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
गत साता बजार घट्नुमा मल्लिक समितिको प्रतिवेदनलाई मुख्य आधार बनाए पनि यसअघि कम मूल्यमा सेयर किनेकाहरूले अघिल्लो साता केही नाफा प्राप्त गर्न पुगेकाले गत साता नाफा बुक गरी सेयर विक्री गर्न हतारो गर्दाको असर पनि नेप्सेमा परेको छ। पुँजी बजार विश्लेषक मुक्ति अर्याल पुँजीगत लाभ करको विषय र नाफा बुक गर्ने प्रवृत्तिले अघिल्लो साता जुन गतिमा नेप्से बढेको थियो गत साता त्यही गतिमा घटेको बताउँछन्।
बजारको प्रवृत्ति हेर्दा नेप्से सूचक २१०० माथि टिक्नै मुस्किल रहेको देखिन्छ। पछिल्ला १० कारोबार दिनको तथ्यांक हेर्दा नेप्से ३ पटक २१०० माथि गए पनि फेरी फर्किएर तल झरेको देखिन्छ।
‘करको विषयले बजारमा असर पुर्याएको पक्कै हो। तर, ट्रेडरहरूले नाफा बुक गर्दाको असर पनि बजारमा देखिएको छ,’ विश्लेषक अर्याल भन्छन्, ‘मल्लिक समितिको प्रतिवेदन सुझाव मात्र भएकाले लागू गर्ने/नगर्ने टुंगो लागिसकेको छैन। त्यस्तै लागू नै हुँदा पनि आर्थिक वर्ष २०८२/८३ बाट मात्रै हो। त्यसैले डराउनुपर्ने अवस्था छैन। यद्यपि, छलफल हुनु ठिकै हो।’ अर्याल एक सातामै नेप्से उच्च अंकले घटेकाले अब बढी घट्ने सम्भावना कम रहेको बताउँछन्।
बजारको प्रवृत्ति हेर्दा नेप्से सूचक २१०० माथि टिक्नै मुस्किल रहेको देखिन्छ। पछिल्ला १० कारोबार दिनको तथ्यांक हेर्दा नेप्से ३ पटक २१०० माथि गए पनि फेरी फर्किएर तल झरेको देखिन्छ। अझ पछिल्लो ६२ कारोबार दिनमा नेप्से ७ कारोबार दिन २१०० बिन्दु माथि पुगेर बजार बन्द भएको तथ्यांक छ। तर, टिकेर कारोबार भएको देखिँदैन। घटिरहेको बजारबाट माथि उठ्दै गर्दा यस्तो अवस्था पटक पटक आउँछ। तर, लगानीकर्ताहरू बजार सूचक २००० विन्दुबाट तल नझरेको स्थितिलाई बजार सूचक माथि चढ्नु अघि आराम गरिरहेका रूपमा बुझ्छन्। बजार सूचक २१०० मा अडिएमा भने २२०० को विन्दुतर्फ अघि बढ्ने लगानीकर्ताहरूको भनाई छ।
सेयर विश्लेषक अर्यालको भनाइसँग सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेल पनि सहमत छन्। सरकारले चालू वर्ष नै हाल तिरिरहेको करलाई अन्तिम कर भनेकाले आत्तिनुपर्ने अवस्था नरहेको र बजार फेरी सकारात्मक हुने अपेक्षा फुलेलको छ। ‘मल्लिक प्रतिवेदनका आधारमा बजार घट्नुपर्ने कुनै कारण छैन। मल्लिक प्रतिवेदनले दिएको सुझाव तत्काल कार्यान्वयनमा गइहाल्दैन,’ अध्यक्ष फुलेल भन्छन्, ‘अघिल्लो साता बजार बढेकाले गत साता सुधार (करेक्सन) भएको हो।’
पुँजीगत लाभलाई आम्दानी मानी ३९ प्रतिशतसम्म आयकर तिर्ने विषयले गत साता सामाजिक सञ्जाल पनि निकै तताएको देखिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले लेखेका छन्, ‘६२९६१२० डिम्याट खाताधारी सेयर लगानीकर्ता र लाखौं संस्थागत र व्यक्तिगत घरजग्गा कारोबारी रहेको देशमा त्यो क्षेत्र सँग सम्बन्धित करका दरमा द्विविधा रहेसम्म अर्थतन्त्र कुनै हालतमा चलायमान हुँदैन।’ पौडेलले अर्थतन्त्र चलायमान बनाउन सबै क्षेत्रका द्विविधायुक्त कर कानुनलाई प्रस्ट पार्नुपर्ने उल्लेख गरेका छन्।
लगानीकर्ता विष्णुप्रसाद बस्यालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर आम्दानीमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको विषय चालू वर्षको आर्थिक विधेयकको बुँदा २९ मार्फत पारित भइसकेको उल्लेख गरेका छन्। बस्याले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो सुझाव नयाँ होइन। अब पालो कर उठाउने हो। सरकारले नउठाए महालेखापरीक्षकले सरकारलाई असुल्न बाध्य गराउँछ।’ बस्यालले ३९ प्रतिशत कर तिर्नुपर्ने चिठ्ठीको पर्खाइमा बस्न लगानीकर्तालाई आग्रह गरेका छन्।
समितिले व्यावसायिक रूपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी व्यक्तिगत आयकर ऐनअनुरूप कर लगाउन सुझाएको छ। समितिले एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई १० प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर लगाउन पनि सुझाएको छ। हाल लगानीकर्ताहरुले १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेको हकमा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।