काठमाडौं । सिमेन्टको ग्रेड वर्गीकरण गर्दा प्रयोग हुने म्याग्नेसिम अक्साइड (एमजीओ)को मात्रा कति हुने भन्ने विषयमा सिमेन्ट उद्योगीहरुबीच पहिलेदेखि नै मनमुटाव थियो । त्यसैका कारण नेपाल सिमेन्ट उत्पादक सङ्घको २०७५ माघ १८ गते तोकिएको नयाँ कार्यसमिति निर्वाचन हुन सकेन । यद्यपि उनीहरुले निर्वाचन नहुनुमा एमजीओको मुद्दा नभएको बताउँदै आएका छन् । तर तोकिएको मितिमा निर्वाचन भएर नयाँ कार्यसमिति बनेको भए अहिलेको अवस्था जे पनि हुन सक्थ्यो ।
बुधबार नेपाल गुणस्तर परिषद्को बैठकले सिमेन्टलाई तीन ओटा ग्रेडमा वर्गीकरण गरेर एमजीओको मात्रा तय गरेपछि उद्योगीबीचको मनमुटाव उत्कर्षमा पुगेको छ । त्यति बेला व्यक्तिलाई लिएर निर्वाचन रोकिएको आरोप खेपे पनि वास्तविकता भने सरकारले एमजीओको मात्रा तोक्न सङ्घका तर्फबाट लबिङ कसले भन्ने मुद्दाका कारण निर्वाचन बिथोलिएको थियो । तर सिमेन्ट उत्पादकहरु यसलाई आधिकारिक रुपमा स्वीकार भने गर्दैनन् ।
त्यति बेला अध्यक्षका दाबेदार भनिएकाहरु एमजीओ ६ प्रतिशत हुनुपर्ने अडानमा थिए । तर वर्तमान कार्यसमितिले निर्विरोध कार्यसमिति चयन गर्ने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गरेको थियो, जसले गर्दा बहालावाला अध्यक्षकै पक्षमा सरकारी निर्णय आयो । हालको कार्यसमितिका अधिकांश पदाधिकारी एमजीओ ५ प्रतिशत बनाउनुपर्ने लबिइङमा थिए । अधिकांश पदाधिकारी संलग्न उद्योगको सिमेन्टमा पाँच प्रतिशत मात्रै एमजीओ रहेको पाइएको छ ।
उद्योगी/व्यवसायीले सुरुदेखि नै एमजीओ आफूअनुकूल गर्न सरकारसँग लबिइङ गर्दै आएका थिए । एकथरी व्यवसायी एमजीओ ६ प्रतिशत र अर्काथरी ५ प्रतिशत कायम गर्न आफ्नो शक्ति प्रयोग गर्दै आएका थिए । सरकारले एमजीओको मात्रा ५ प्रतिशत हुनुपर्ने भनेर तोकेपछि भने ६ प्रतिशतका पक्षमा रहेका उद्योगीहरु सङ्घबाट बाहिरिनेसमेत चर्चा सुरु भएको छ । विगतमा सङ्घको हरेक कार्यसमिति बैठकमा एमजीओका मुद्दाले स्थान पाउँदै आएको थियो । अब भने तत्कालका लागि एमजीओ मुद्दा सकिएको छ ।
उता, परिषद्ले ३३ ग्रेड सिमेन्टमा एमजीओको मात्रा ६ प्रतिशत तोकेको छ भने ४३ र ५३ ग्रेडको सिमेन्टमा ५ प्रतिशत मात्रै एमजीओ हुनुपर्ने नियम बनाएको छ । तर बुधबारको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्यनमा आउनेछ ।
सङ्घमा विवाद निरन्तर बढ्दै गएपछि त्यो विषय नेपाल गुणस्तर तथा नापतौल विभाग हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत पुगेको थियो । केही उद्योगीहरु एमजीओको मात्रा ५ प्रतिशत कायम गर्नुपर्छ भनेर उद्योगमन्त्री मातृकाप्रसाद यादवसमक्ष बिन्तीपत्र नै लिएर पुगेका थिए । पाँच प्रतिशत कायम गर्दा सिमेन्टको गुणस्तर हुने भन्दै मन्त्री यादवलाई समेत ‘कन्भिन्स’ गराएपछि त्यसको असर परिषद्को निर्णयमा देखिएको हो । मन्त्रीको इच्छालाई उद्योग सचिव यामकुमारी खतिवडाले समेत पूरा गराउन भूमिका खेलिन् । यद्यपि सरकारी निर्णयमा चित्त नबुझाएका केही उद्योगीले भने निर्णयमा हस्ताक्षर गरेका छैनन् । ती उद्योगीको निर्णयमा हस्ताक्षर हुनु र नहुनुले निर्णय कार्यान्वयनमा भने खासै असर गर्दैन ।
भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायत एमजीओको मात्रा ६ प्रतिशत छ । यसैलाई देखाएर नेपालमा पनि एमजीओ ६ प्रतिशत कायम गराउन गरेको एकथरीको प्रयास तत्कालका लागि असफल भएको मात्र छैन, आगामी सङ्घको आगामी निर्वाचनमा यसको असरसमेत देखिनेछ ।
कुनै भूभागमा भएका खानीबाट निकालिएको चनढुङ्गामा एमजीओको मात्रा ६ प्रतिशत छ भने कुनै भूभागको खानीबाट निकालिएको चुनढुङ्गामा एमजीओ ५ प्रतिशत छ ।
खासगरी नेपालको पूर्वी र मध्य क्षेत्रमा अवस्थित खानीमा एमजीओ ५ प्रतिशत पाइएको छ भने पश्चिम क्षेत्रका खानीमा एमजीओको मात्रा ६ प्रतिशत छ ।
बुधबारको सरकारी निर्णयपछि नै एकथरी उद्योगीहरु ६ प्रतिशत एमजीओ भएका सिमेन्टको गुणस्तरमा समस्या हुने भन्दै हिँडन थालेका छन् । के सिमेन्टमा एमजीओ ६ प्रतिशत हुँदैमा साँच्चै गुणस्तरमा समस्या हुन्छ त भन्ने प्रश्न पनि उब्जिएको छ । तर एमजीओ ६ प्रतिशत भएकै कारणले समस्या हुने नभई त्यो क्षेत्र आपूmले लिन पाउने दाउमा उनीहरु माथिल्लो तहको लबिइङमा जुटेका हुन् ।
सङ्घका पदाधिकारीको द्वैध चरित्र
हरेक संस्थामा सदस्य बन्नुका पछाडि एउटा स्वार्थ हुन्छ, आफू अप्ठ्यारोमा पर्दा संस्थाले बोलिदिओस् । संस्थाले सम्पूर्ण सदस्यको हितमा काम गरोस् । जब संस्थाले आफ्ना सदस्यको हित बिर्सन्छ, तब त्यो संस्थामा बस्नुको कुनै अर्थ हुँदैन । अहिले त्यस्तै भएको सिमेन्ट उत्पादक सङ्घमा बस्ने उद्योगीलाई ।
संस्थामा बस्ने व्यक्तिले आफ्नो निपहत स्वार्थ हेरेकाले धेरै उद्योगी अप्ठ्यारोमा परेका छन् । संस्थाको नेतृत्व लिने व्यक्तिले समग्र उद्योगीको हितमा काम गर्न सकेन भने त्यो संस्थाको सदस्य भएर बस्नुको कुनै औचित्य हुँदैन । अहिले एमजीओ ६ प्रतिशत भएका सिमेन्ट उद्योगीलाई सिमेन्ट उत्पादक सङ्घ नै अभिशाप भएको छ । र कतिपय उद्योगीहरु सङ्घबाट बाहिरिने तयारीमा समेत पुगिसकेका छन् ।
के हो एमजीओ ?
म्याग्नेसियम अक्साइड अर्थात् म्याग्नेसिया एउटा सेतो हाइग्रस्कोपिक सोलिड खनिज हो, जुन म्याग्नेसियमको स्रोत पनि हो । म्याग्नेसिुयम कार्बोनेट वा म्याग्नेसियम हाइड्रोअक्साइडलाई काल्सिनेसन अर्थात् अक्सिजन वा हावामा उच्च तापक्रममा तताउने विधिबाट म्याग्नेशियम अक्साइड उत्पादन गरिन्छ । यसको इम्पेरिकल शुक्र एमजीओ हो ।
म्याग्नेसियम अक्साइड रिफ्रेक्टरी वस्तु हो अर्थात् यो त्यस्तो ठोस पदार्थ हो, जो उच्च तापक्रममा पनि भौतिक र रासायनिक रुपमा स्थिर रहन्छ । यसका दुई उपयोगी विशेषता भनेको हाई थर्मल कन्डक्टिभिटी र लो इलेक्ट्रिकल कन्डक्टिभिटी हो । म्याग्नेसियाको विश्वमै ठूलो उपभोक्ता भनेको रिफ्रेक्टरी उद्योग हो, जसले अमेरिकामा २००४ मा ५६ प्रतिशत म्याग्नेसिया प्रयोग गरेको थियो भने बाँकी ४४ प्रतिशत कृषि, रासायनिक, निर्माण, वातावरणीय र अन्य औद्योगिक क्षेत्रका लागि प्रयोग भएको थियो ।