९ वर्षदेखि नेपाली अकासमा सीआरजे जहाजमार्फत सौर्य एयरलाइन्सले उडान गर्दै आएको छ। नेपालमा पहिलो पटक सीआरजे जहाजमार्फत उडान गरेको सौर्यले सुरुमा धेरै गन्तव्यमा उडान गरे पनि अहिले दुई वटामा सीमित भएको छ। सुरक्षा, सजहजता र नेपालको भौगोलिक दृष्टिले उत्कृष्ट मानिने सौर्य एयरलाइन्स सबैको रोजाइमा पर्दै आएको छ।
मौसममा बेलाबेला आउने परिवर्तनका कारण हवाई उडानमा रहँदा धेरै जहाज हल्लिने समस्याका कारण यात्रु डराइरहेको अवस्थामा सौर्यको सीआरजे जहाजमा भने त्यो खाले समस्या हुँदैन। ४१ हजार फिट उचाइसम्म जान सक्ने क्षमताको सीआरजेमा अन्य जहाजको तुलनामा १५ देखि २० मिनेटमै छिटो पुग्न सकिन्छ। जहाजको भीडमा सौर्य एयरलाइन्स यात्रु रोजाइमा पर्नुको कारणसहित अप्रेसन चिफ क्याप्टेन मनिषरत्न शाक्यलाई क्यापिटलका सुवास योञ्जनले सोधेका ५ प्रश्नः
सौर्य एयरलाइन्ससँग रहेको सीआरजे जहाज र अन्य जहाजमा फरक के छ?
सौर्य एयरलाइन्सले उडान गर्ने जहाज अन्यभन्दा फरक छ। हुन त सबै जहाज फरक हुन्छन्। नेपालको सन्दर्भमा आन्तरिक उडानमा रहेका जहाजमा जेट र टर्बो इन्जिनयुक्त जहाज सञ्चालनमा छन्। सौर्य एयरलाइन्सले नेपालमा पहिलो पटक सीआरजे २०० जहाजमार्फत उडान गरेको हो। सीआरजे जहाजमा जेट इन्जिन भएकााले अन्य विमानको तुलनामा उपयुक्त मानिन्छ। डाँडाकाँडाको बीचमा उडाउनुपर्ने, धेरै उचाइमा पुग्ने जहाज सीआरजे भएकाले पाइलट र यात्रुलाई धेरै सहज हुन्छ। सीआरजेमा रहेका इन्जिन धेरै शक्तिशाली भएकाले उचाइ लिनलाई निकै सहज हुन्छ।
उचाइ चाँडै लिन सक्ने हुँदा डाडाँकाँडाको डरत्रास बोक्नुपर्ने स्थिति रहँदैन। केही कारणले एउटा इन्जिनमा समस्या आए अर्को इन्जिनले गन्तव्यमा छिटो पुग्ने भएकाले सुरक्षा दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। जहाजको बसाइदेखि सुरक्षा दृष्टिकोणले नेपालको सन्दर्भमा उच्चतम छ। सामान्यता २० हजार फिटमुनि नै बादल हुने भएकोले यो जहाज त्योभन्दा माथि उड्ने हुँदा यात्रुलाई समेत सहज हुन्छ। यो जहाज ४१ हजार फिट माथिसम्म बादल मुनिमुनि उड्ने भएकाले डाँडाकाँडा काट्न सहज हुन्छ। २० हजार फिटमुनि बढी मौसम बिग्रिने हुँदा त्यो उचाइमाथि नै जाने भएकाले समस्या हुँदैन। एटीआर जहाजले अधिकतम उचाइ लिने भनेको २५ हजार फिट मात्र हो। सामान्य उडानमै २० देखि २५ हजारको उचाइमा उडान गर्ने र हावाको बेग कम हुने भएकोले जहाज हल्लिने समस्या पनि कम हुन्छ।
एटीआर विमानभन्दा सीआरजे जहाजको उडान समय कति फरक छ?अन्य विमानकाे तुलनामा सीआरजेमा दुर्घटनाको दर पनि कम हो?
उडान गतिको हिसाबले पनि सीआरजे जहाज राम्रो हाे। काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीमा सीआरजे जहाजमार्फत ५० मिनेटमै पुग्न सकिन्छ। तर, एटीआर जहाजको १ घन्टा १० मिनेट लाग्ने गरेको छ। अरु जहाजभन्दा १५ देखि २० मिनेट छिटो पुगिन्छ। हुन त सबै जहाज सुरक्षाको दृष्टिकोणले उत्कृष्ठ छन्। नेपालमा सौर्यले उडान सुरु गरेको १० वर्ष हुन लाग्यो। अहिलेसम्म ठूलो दुर्घटना सौर्यमा भएको छैन र भोलिका दिनमा पनि नहोस् भन्नेमा हामी सचेत छौं। जहाज प्राविधिक विषय भएकोले बेलाबेला समस्या आउनु सामान्य हो। तर, कुन कम्पनीले कसरी जहाजलाई मर्मत गरेको छ भन्ने ठूलो कुरा हो। जहाज आफैंमा सुरक्षित र असुरक्षित भन्ने हुँदैन। नेपालमा मात्र हैन, विश्वभर सञ्चालनमा रहेको यो जहाजमा पनि दुर्घटना दर न्यून छ।
सौर्य एयरलाइन्स र अन्य जहाज कम्पनीकाे भाडादर धेरै फरक छैन। तपाईं क्याप्टेन भएको आधारमा यात्रुलाई एटीआर र सीआरजे मध्ये कुन जहाज चढ्न सुझाव दिनुहुन्छ?
सबभन्दा ठूलो कुरा सुरक्षा हो। सुरक्षाका लागि सबभन्दा भरपर्दो जहाज भनेकै सीआरजे हो। सेफ्टी, लक्जरी, अनटाइमलाई बढी ध्यान दिनुपर्छ। यो जहाजमा अन्यको तुलनामा सिट राम्रा र लक्जरियस् हुन्छन्। सेफ्टीको हिसाबले सबै जहाज सुरक्षित भए पनि नेपालको भौगोलिक दृष्टिकोणले सबैभन्दा उत्तम सीआरजे जहाज नै हो। अन्य जहाजभन्दा सीआरजेको भाडा केही महँगो हुन सक्छ किनकि अन्य जहाजको तुलनामा इन्जिन धेरै पावरफुल भएको कारणले इन्धन धेरै खाने हुँदा अप्रेसन खर्च महँगाे छ। यो जहाजमा एउटा इन्जिन फेल हुनेवित्तिकै अर्को इन्जिनमा स्वतः पावर बढ्ने भएकोले झनै सुरक्षित मानिन्छ। अहिलेको अवस्थामा २/४ सय रुपैयाँ महँगो हेर्नुभन्दा सीआरजे जहाजमै उडान गर्नु राम्रो हो। अर्को कुरा, अन्य जहाजभन्दा यो जहाजको टिकट समान रहेकोका एउटै मूल्यमा राम्रो सुविधा पाइन्छ भने अर्को जहाजमा किन चढ्ने?
अहिले सौर्य एयरलाइन्सको अकुपेन्सी कस्तो छ? यात्रुले सौर्य नै रोज्नुपर्ने कारण के?
अहिलेको स्थितिमा सौर्य एयरलाइन्सको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ। जसले सौर्य चढेका छन्, सबैले राम्रो भनिरहेका छन्। यात्रुको सुझाव पनि राम्रो छ। थोरै गन्तव्य भएकाले जहाँ उडाइरहेका छौं, त्यहाँका यात्रुले हाम्रै जहाजमा उडान भरिरहेका छन्। ९/१० वर्षको अन्तरलामा अहिलेसम्म ठूलो दुर्घटना भएको छैन। यो भनेको हाम्रो सुरक्षा मापदण्ड राम्रो छ भन्ने सन्देश नै हो। योसँगै अन्य जहाजभन्दा छिटो पुग्ने र निर्धारित समयमै उडान गर्नुका साथै जहाजभित्र कुनै बाहिरी आवाज नसुनिने भएकोले यात्रुका लागि उत्कृष्ठ छ। बादलमाथि उड्दा पनि कम हल्लिने भएकोले यात्रुलाई सहज महसुस हुन्छ।
अहिले सौर्यले कुन-कुन गन्तव्यमा उडान गरिरहेको छ? अबका योजना के छन्?
अहिले सौर्यले विराटनगर र चन्द्रगढी विमानस्थलमा उडान गरिरहेको छ। अबको केही समयभित्रै पोखरा उडान तयारी छ। योसँगै नेपालगन्ज, भैरहवा, धनगढी क्षेत्रमा पनि उडान तयारी थालिएको छ। अहिले ३ मध्ये २ वटा जहाजले नियमित उडान गरिरहेका छन्। जहाजको संख्या कम भएकोले थोरै गन्तव्यमा उडान गर्ने तर नियमित गर्ने सोचका साथ विराटनगर र चन्द्रगढीमा मात्र उडान भरिरहेका छौं। जहाँ उडान गरिरहेका छौं, उत्कृष्ट सेवा दिने उद्देश्य कम्पनीकाे छ। अहिले कम्पनीले नयाँ जहाज थप्ने योजना बनाइरहेकाले छिट्टै अन्य गन्तव्यमा पनि जानेछौं। अहिलेको हाम्रो मुख्य चुनौती भनेकै अन्य कम्पनीले जहाज थपिरहेको अवस्थामा थोरै जहाजले मात्र उडान गर्दा सबै ठाउँमा यात्रुलाई सुविधा दिन नसक्नु हाे।