नुवाकोट। जिल्लाको विदुर नगरपालिकाले सबभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रुपमा सम्मान गरेको छ। शुक्रबारदेखि सुरु भएको विदुरको १५औँ नगरसभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एक जनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।
सभाध्यक्ष एवं नगरप्रमुख राजन श्रेष्ठका अनुसार पालिकामा रहेका १३ वडाबाट सबैभन्दा बढी कर बुझाउने १३ जना व्यवसायीलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा वडा–१ बाट किरण खतिवडा, २ बाट भुवनलाल राजभण्डारी, ३ बाट मंगले श्रेष्ठ, ४ बाट भगवानराज श्रेष्ठ, ५ बाट मनमैजु इन्डस्ट्रिज प्रालि, ६ बाट सरस्वती धिताल लामिछाने र ७ बाट भैरवबहादुर भण्डारी रहेका छन्।
वडा–८ देखि १३ बाट क्रमशः शिवप्रसाद अधिकारी, जितेन्द्रमान श्रेष्ठ, प्रकाश खतिवडा, निलप्रसाद चालिसे, अर्जुनप्रसाद रिमाल र अम्बरबहादुर तामाङ सम्मनित भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
विदुरले करको आकार बढाउने भन्दा दायरा बढाउँदै करदातालाई आकर्षित गर्ने र आन्तरिक स्रश्रोत बढाउने लक्ष्य अनुरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिने नगर उपप्रमुख प्रभा बोगटीले बताइन्।
शुक्रबारदेखि सुरु भएको नगरको अधिवेशनले नीति तथा कार्यक्रमलाई संशोधनसहित पास गरिसकेको छ। १ अर्ब ११ करोड हाराहारीको अनुमानित बजेटमाथिको छलफल जारी रहेको उपप्रमुख बोगटीले जानकारी दिइन्।–रासस